कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले पतिको हत्या गरेकी छन् । मंगलबार बिहान स्थानीय २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय पति ओमकुमार चौधरीको हत्या गरेकी हुन् ।
खेत खन्ने चपरा (फरुवा) प्रहार गरी उनले पतिको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको जानकारी दिनुभयो ।
‘बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ’, उहाँले भन्नुभयो , ‘पतिको हत्या गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।’
यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
