काठमाडौं । चीनको उहानमा भएको विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा पहिलो पटक नेपाली सेना सहभागी भएको छ । महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा नेपाली खेलाडी सहभागी भएका हुन् ।
इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगिताको सातौँ संस्करणमा आज सहभागी देशहरुको झण्डोत्तोलन गरिएको छ ।
कार्यक्रममा नेपालीसहित साउदी अरोबिया, बेलारुस, चिली, मङ्गोलिया र स्लोभानियाका राष्ट्रिय झण्डा एकैसाथ फहराइएको थियो। चिनियाँ जनमुक्ति सेनाले यहाँस्थित सैनिक खेलकूद गाउँमा आयोजना गरेको यस प्रतियोगिताको मुख्य नारा ‘सैनिक गौरव र विश्व शान्ति’ रहेको छ।
शुक्रबार भव्य समारोहबीच उद्घाटन हुने उक्त प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ। नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सि¬ङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ।
मस्कट ‘विङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामकरण गरिएको छ। नेपालसहित विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ।
यस खेलकूद प्रतियोगितालाई ओलम्पिकको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ। प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ। यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन्।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विशिष्ट पाहुनाका रुपमा विश्व सैनिक खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिनेछन् । एजेन्सी