काठमाडौं । सरकारले निकै तामझामका साथ सुरु गरेको सामाजिक सुरक्षा योजनामा सहभागिता भने न्युन देखिएको छ । सरकारले सूचिकृत हुन दिएको म्याद सकिन अब जम्मा दुई दिन बाँकी छँदा अत्यन्त कमजोर सहभागिता देखिएको हो ।
सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईका अनुसार हालसम्म यस योजनामा ५ हजार ६ सय १६ रोजगारदाता कम्पनी र ८४ हजार ७ सय ७३ श्रमिक सहभागी भएका छन् । कोषले कम्तीमा ५० हजार ठूला कम्पनी सूचीकृत हुने अपेक्षा गरेको थियो ।
गत मङ्सिरमा सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता कम्पनी र श्रमिकहरूका लागि खुला गरिएको थियो । समयमै कम्पनीहरू सूचीकरण हुन नआएपछि दोस्रो पटक म्याद थप गरियो । सो म्याद यही असोज मसान्तमा सकिँदैछ ।
सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन नआउने रोजगारदाता कम्पनीलाई सरकारले कारबाही गर्ने भएको छ ।
सामाजिक सुरक्षा योजनामा सहभागी नहुने कम्पनीलाई कानुन बमोजिम कारबाही गरिने कोषले जनाएको छ । समयमै सूचीकृत नभएका प्रतिष्ठान वा रोजगारदातालाई कर तिर्दा, नवीकरण गर्दा वा अन्य विभिन्न कानुनी प्रक्रिया पूरा गर्न रोक्का गरी सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा सूचीकृत भएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाइने कोषले जनाएको छ ।