दाङ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओली सरकारको कदम विरुद्ध राष्ट्रिय जनमोर्चा दाङले विरोधसभा सम्पन्न गरेको छ । सरकारको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी बताउँदै राजमो दाङको आयोजनामा आइतबार गढवामा विरोधसभा आयोजना गरिएको हो ।
राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष गणेश आचार्यले विरोधसभालाई सम्बोधन गर्दै नेपाली जनताले अधिनायकवाद विरुद्ध लगातार सङ्घर्ष गरिरहेको स्मरण गर्दै केपी ओली सरकारको कदमलाई जनताले खारेज गरिदिने विश्वास व्यक्त गर्नुभयो । उहाँले ओली सरकारको अधिनायकवादी कार्यशैलीका कारण गणतन्त्रमाथि नै आँच पुग्न गएको हुँदा यस कदमको व्यापक भण्डाफोर गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
राजमो गढवाका अध्यक्ष कपिलदेव खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सल्लाहकार गुणनिधि शर्मा, राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय कोषाध्यक्ष ओमबहादुर केसीलगायतले सम्बोधन गर्नुभएको थियो ।
नगर सदस्य खुमानन्द पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तुकमान कुँवरले गर्नुभएको थियोे ।
