नवलपरासी । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओली सरकारको कदमविरुद्ध राष्ट्रिय जनमोर्चा नवलपरासीले विरोध सभा गरेको छ । सरकारको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भन्दै राजमो जिल्ला समिति नवलपरासीको आयोजनामा आज शुक्रबार सुनवल नगरपालिकाको भूमही बजारमा विरोध सभा गरेको हो ।
राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षता र उत्तमराज खरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल किसान महासंघका जिल्ला संयोजक जित बहादुर पौडेल, नेपाल कम्युनिष्ट पार्टी (मसाल) जिल्ला प्रवक्ता धनपति सापकोटा, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहाकार तिलक प्रसाद सुबेदी र लुम्विनि प्रदेश सदस्य रेम रानाले सम्बोधन गर्नुभएको भएको थियो।
त्यस क्रममा राष्ट्रिय जनमोर्चा लुम्विनी प्रदेश सदस्य रेम रानाले ओली सरकारको कदम तत्काल सच्याउन सबै दलहरु सडकमा उत्रनु पर्छ भन्दै नत्र लामो संघर्षबाट प्राप्त उपलब्धी गुमेपछि फेरि त्यसका लागि सिंगो पुस्ताले नै पुरा जीवन संघर्षमा बिताउनु पर्ने अबस्था आउने बताउनुभयो ।
यस्तै, नेता सुवेदीले ओली सरकारको अधिनायकबादीे कदमलाई सडक सघर्षबाटै सच्याउन सकेमात्र गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न सकिन्छ भन्नु भयो ।
