काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोध गर्दै नेकपा (प्रचण्ड-नेपाल) समूह सडक संघर्षमा उत्रिएको छ । शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा शीर्ष नेताहरु धर्ना बसेर आन्दोलनको सुरुवात गरेका छन् ।
‘हामी जिउँदै छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेता कार्यकर्ताहरु माइतघर मण्डलामा सडकमै बसेका थिए । माइतीघर मण्डलामा भेला भएर नेकपाका यो पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोगमा जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको नेताहरुले बताएका छन् ।
बिहीबार बसेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको हो ।
प्रचण्ड–नेपाल समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार ५०१ सदस्यीय संघर्ष समिति बनाएको थियो ।
यस्ता छन् संघर्षका अन्य कार्यक्रम
१० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरू लगयत माइतीघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने । दिउँसो २ बजे पत्रकार सम्मेलन ।
–१ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
–१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
–१२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
–१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
–२० गतेभित्र नगर÷गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
–२५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
–काठमाडौँ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्न ।