हेटौँडा । नौ वाम पार्टी तथा सङ्गठनको संयुक्त मोर्चाले २०७७ पुस ८ गते मकवानपुरले हेटौँडामा मसाल जुलुससहित कोणसभा सम्पन्न गरेको छ ।
नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माओवादी–केन्द्र), नेकपा (माले) , नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी, देशभक्त जनतान्त्रिक मोर्चा, समाजवादी अध्ययन केन्द्र मकवानपुर सम्मिलित संयुक्त मोर्चाले ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेको कार्य असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी भएकाले गलत भएको भन्दै मसाल जुलुस सम्पन्न गरेको होे ।
मसाल जुलुस बैङ्क अफ काठमाडौँनजिकबाट सुरु भई सीमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा सबै दलको तर्फबाट नेकपा (मसाल) मकवानपुरका प्रवक्ता रामहरि धितालले भनाइ राख्नुभएको थियो । सम्बोधनको क्रममा गणतन्त्रको सुदृढीकरणका लागि अबको आन्दोलन केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्दै प्रधानमन्त्रीको असंवैधानिक कदम फिर्ता लिनुपर्ने बताउनुभएको थियो ।
जुलुसमा नेकपा (क्रान्तिकारी–माओवादी) मकवानपुरका इन्चार्ज पारस, नेकपा (माओवादी–केन्द्र) मकवानपुरका इन्चार्ज विज्ञान लामा, नेकपा (माले) मकवानपुरका कार्यालय सचिव हरिकृष्ण अधिकारी, वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य गणेश रसाइलीलगायत राष्ट्रिय जनमोर्चा, देशभक्त जनतान्त्रिक मोर्चा, समाजबादी अध्ययन केन्द्र मकवानपुरका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
