काठमाडौँ । आफ्नो उत्पादनको भुक्तानी पाउनुपर्ने माग गर्दै राजधानीमा आन्दोलनरत उखुकिसानले आन्दोलन जारी राखेका छन् । बुधबार पनि किसानहरूले हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरे ।
उखुकिसानहरू मङ्सिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाडौँको माइतीघर मण्डलामा आएर सङ्घर्ष गरिरहेका छन् । चिनी मिल सञ्चालकले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने उखुकिसानले बताएका छन् ।
किसानहरु मिल सञ्चालकबाट करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको र सरकारले गत वर्ष नै किसानको उखुको रकम दिलाउने गरी उखुकिसान र मिल सञ्चालकबिच सम्झौता गराएको थियो । सरकारको रोहबरमा एक महिनाभित्रमा भुक्तानी दिने सम्झौता भए पनि किसानहरूले एक वर्षसम्म पनि भुक्तानी पाउन सकेनन् । त्यसैले किसानहरु फेरि पनि काठमाडौँ आएर सङ्घर्ष गर्न बाध्य भएका हुन् ।
यस पटक सरकारले उखु किसानहरुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बताएको छ, तर अहिलेसम्म कुनै पनि कारबाही गर्न सकेको छैन् । किसानहरूले सरकारसँग पटक–पटक कुराकानी भएको, तर उद्योगी र सरकारबिचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन् ।
किसानहरूले आफ्रहरूले पाउनुपर्ने रकमको भुक्तानी दिलाउने जिम्मेवारी सरकारले नलिदासम्म सङ्घर्षलाई जारी राख्ने बताएका छन् ।