शुक्रराज भण्डारी/दाङ ।
प्रतिनिधि सभाको विघटन, भ्रष्टाचार र सङ्घीयताको विरुद्ध र गणतन्त्र , राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि पुस ७ गते राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुरमा विरोधसभा सम्पन्न भएको छ ।
विरोधसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसीले जननिर्वाचित संसद विघटन गरेर वर्तमान सरकारले गम्भीर गल्ती गरेको बताउनुभयो । कोरना भाइरसको कारण जनता आहत भएका बेला नागरिक राहतका कार्यक्रम आउनुको साटो अनावश्यक रूपमा जनतामाथि चुनावको भार थोपरेर सरकारले जनताप्रति विश्वासघात गरेको बताउनुभयो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (मसाल) का दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले भारतीय साम्राज्यवादले नेपाललाई खेलकुद मैदान बनाएको बताउँदै वैदेशिक चलखेलको सिकार सम्पूर्ण नेपाली जनता हुनुपरेको बताउनुभयो । मसालका प्रवक्ता भण्डारीले उनीहरूको सत्तास्वार्थको लडाइँको कारण जनताले रगतसँग साटेर प्राप्त गरेको गणतन्त्र र धर्म निरपेक्षता गम्भीर सङ्कटमा परेको बताउनुभयो ।
त्यस्तै, विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले केपी ओली सरकारको प्रतिनिधि सभा विघटनको कदमलाई देश र जनताको लागि कलङ्क भएको बताउदै उक्त कदमको भ्रत्सना गर्नुभयो । उहाँँले सङ्घीयता नेपाल र नेपाली जनताका लागि अभिसाप भएको बताउँदै यसको खारेजीको माग गर्नुभयो । जिल्लाध्यक्ष आचार्यले देशको अहिलेको अस्थिर अवस्थामा राजावादीहरूले टाउको उठाउन खोजेको बताउनुभयो ।
विरोध कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले गर्नुभएको थियो ।
