जीवन शाही, सुर्खेत ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासीले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमले प्रतिगमनलाई फाइदा पुग्ने बताउनु भएको छ । नेकपा भित्रको आन्तरिक कलह समाधान गर्न नसकेपछि ओलीले संसद विघटनको बाटो समातेको प्यासीले बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाले पश्चिम सुर्खेतको गटुमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य प्यासीले बर्तमान सरकारले २०६२–६३ को जन आन्दोलनको चिरहरण गरेको बताउनु भयो । उहाँले नेकपा र कांग्रेसलाई अग्रगमनका लागि आन्दोलनमा उत्रिन आह्वान समेत गर्नुभयो ।
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य हरी बुढा, नेकपा (मसाल) सुर्खेतका प्रतिनिधि विष्णु शर्मा, राजमोका जिल्ला सचिव लालबहादुर नेपाली, राजमो पञ्चपुरीका अध्यक्ष थानेश्वर तिवारी, मूल प्रवाहका जगत न्यौपाने, राजमो जिल्ला सदस्य धर्मराज दानीले प्रतिनिधि सभा विघटनसँगै देशमा राजनीतिक अवस्था अत्यन्तै अस्थिरता तर्फ धकेलिएको बताउनु भयो ।
यो अवस्थामा देशमाथि विभिन्न देशी तथा विदेशी शक्तिहरुको चलखेल बढ्दै जाने भन्दै उहाँहरूले सम्पूर्ण देशभक्त शक्तिहरु राष्ट्रियताको पक्षको आन्दोलनमा एकजुट हुन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।