प्युठान । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सहकर्मीबाटै आफ्नो सत्ता जोगाउन राष्ट्रियतामाथि सौदाबाजी गरिरहेको आरोप लगाउनुभएको छ ।
गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले सोमबार प्युठानको स्वर्गद्वारीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रियतामाथि सौदाबाजी गरेर प्रधानमन्त्रीको कुर्ची नजोगिने बरु जनपक्षीय कामबाटै सरकारको स्थायित्व हुने बताउनुभयो । उहाँले विगतको इतिहासबाट केपी ओलीले पाठ सिक्न सक्नुपर्ने बताउनुभयो ।
देशमा राजावादीहरुले आफ्नो गतिवीधिमा तिब्रता दिएको भन्दै उहाँले भारत सुरुदेखी नै नेपालको गणतन्त्रवादीहरुको विरुद्वमा भएको आरोप लगाउनु भयो । नेता भट्टले कुशासनका कारण जनतामा वितृष्णा पैदा भएको र त्यसैको परिणाम गणतन्त्रमाथि खतरा उत्पन्न भएको बताउनु भयो ।
उहाँले गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने दाबी गर्नुभयो । गणतन्त्रको रक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको उहाँको भनाई थियो । राष्ट्रिय जनमोर्चा स्वर्गद्धारी नगरपालिकाले ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने मूल नाराका साथ विरोध सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य तथा स्वर्गद्धारी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष गिरबहादुर गुरुङ, वडा नम्बर २ का वडाअध्यक्ष निमबहादुर राना, अखिल नेपाल जनजाति महासंघका केन्द्रीय सल्लाहकार वीरबहादुर पुन र राजमो जिल्ला उपाध्यक्ष इमानसिंह खड्काले सम्बोधन गर्नुभएको थियो ।
राजमो स्वर्गद्धारी नगर समितिका अध्यक्ष इन्द्रबहादुर खड्काको अध्यक्षता तथा सचिव गंगाराम जिसीको सञ्चालनमा अघि बढेको सभामा जिल्ला सदस्य मोहनलाल गोराथोकीले स्वागत गर्नुभएको थियो ।
