काठमाडौं । ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित नयाँ तथ्य पत्ता लगाउने तीनजना वैज्ञानिकलाई सन् २०१९ को भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको छ ।
ब्रह्माण्डका विषयमा महत्त्वपूर्ण तथ्य पत्ता लगाउने क्यानडाली अमेरिकी जेम्स् पिबल्ससँगै स्वीट्जरल्याण्डका माइकल मेयर र डिडे क्वेलो यस वर्षका भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार विजेता भएको घोषणा स्टकहोममा आयोजित समारोहमा घोषणा गरिएको हो ।
उनीहरूलाई ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित कार्य र सूर्यजस्तै देखिने एक तारा वरिपरि घुम्ने निकै टाढा अवस्थित ग्रह सन् १९९५ मा पत्ता लगाएकोमा संयुक्त रूपमा त्यो पुरस्कार दिने घोषणा गरिएको हो ।
तीन विजेताहरूले ९० लाख स्वीडिश क्रोनर (झन्डै १० करोड नेपाली रुपैयाँ) पाउनेछन्।
घोषणापछि प्रतिक्रिया दिँदै प्रोफेसर क्वेलोले बीबीसी न्यूजसँग भने, ‘यो अविश्वसनीय हो । २५ वर्षअघि हामीले नयाँ तथ्य पत्ता लगाएपछि नै सबैले भन्ने गर्दथे । यो त नोबेल पुरस्कार पाउनयोग्य खोज हो।’ त्यसपछि मैले भन्ने गर्थेँ, ‘ए हो, हो हुनसक्छ शायद ।’
त्यसपछिका वर्षहरूमा उनले आफ्नो खोजको विषय लगभग बिर्सिसकेका थिए ।
‘अहिले म निकै आश्चर्यचकित भएको छु। म यो पुरस्कारको अर्थ के हो भनेर खुट्ट्याउने प्रयत्न गरिरहेको छु ।’
ती तीन वैज्ञानिककको खोजले खगोलविज्ञानमा नयाँ उपकरणको प्रयोग र ग्रहको उत्पत्तिका बारेमा नयाँ क्रान्तिको बीजारोपण गरिदिएको बताइएको छ । बीबीसी
