दाङ । राष्ट्रिय जनमोर्चा, दाङले जिल्लाका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत ‘गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ’ भन्ने मूल नाराका साथ जिल्लाका दशवटै पालिकाहरुमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
राजमोले विरोध सभाका मिति र बोल्ने वक्ताहरुसमेत ठेगान गरेको छ । जस अनुसार, राप्तीमा पौष १३ गते हुने कार्यक्रमलाई पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सम्बोधन गर्नुहुनेछ ।
यस्तै, सान्तिनगरमा मंसिर २८ गते, घोराहीमा पौष ८ गते, गढवामा पौष १२ गते, बङगलाचुलीमा पौष १६ गते र बबईमा पौष १५ कार्यक्रम तय गरिएको छ । ती सभामा प्रमुख वक्ताको रुपमा जिल्ला अध्यक्ष गणेश आचार्यले सम्बोधन गर्नुहुनेछ ।
यसैगरी, दङिसरणमा पौष ६ गते ऋषिराम पौडेल, तुलसीपुरमा पौष ७ गते कमला जिसी र लमहीमा पौष ११ गतेको कार्यक्रममा रेशम बिसीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ भने राजपुरमा पछि ठेगान गरिने जनाइएको छ ।
पौष महिनाभरी संगठन बिस्तार अभियान सञ्चालन गर्ने र माघको पहिलो हप्ता जिल्ला समितिको बैठक बसी राष्ट्रिय सम्मेलन केन्द्रित विभिन्न कार्यक्रमहरु तर्जुमा गर्ने निर्णय पनि गरेको छ ।
जिल्लाका विभिन्न ठाउँमा प्राकृतिक श्रोतहरु उत्खनन गर्दा सरकारी मापदण्ड कुल्चने, प्रभावित नागरिकहरुको समस्यालाई नजरअन्दाज गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै राजमोले त्यसको वास्तविक अबस्था पहिचान गरि जनतालाई साथ दिने निर्णय भएको जनाएको छ ।
‘बङगलाचुलि ६ को तिमिले क्षेत्रमा स्थानिय नागरिकको असहमति हुँदाहुँदै जबर्जस्त चुनढुङ्गा उत्खननको लागि स्थानीय सरकारले नै अगुवाई गरिरहेको छ । यो ज्यादै नै दुःख को कुरा हो । हामी त्यहाका स्थानीय नागरिकको अबिलम्ब माग पूरा गर्न जोड दिन चाहन्छौँ’ जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा प्रेसित वक्तव्यमा भनिएको छ ।
सरकारले जनताको भरोसा तोडेको छ : कार्यकारी अध्यक्ष नेपाली