शुक्रराज भण्डारी, दाङ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्मै डुबेको आरोप लगाउनुभएको छ । बुधबार दाङको घोराहीमा राजमोले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष नेपालीले सरकार भ्रष्टाचारीहरुको संरक्षण बनेको बताउनुभयो ।
राजतन्त्रको अन्त्य भए पछि जनताले सुसाशन होला भन्ने आशा गरेर बर्तमान सरकारलाई बहुमत दिएको बताउँदै सरकारले जनताको भरोसा तोडेको उहाँले आरोप पनि लगाउनुभयो । सरकारको भ्रष्ट क्रियाकलापको कारण राजावादीहरु पुनः सल्बलाउन थालेको भन्दै, मसानघाटबाट मुर्दा उठेर आउनु र राजतन्त्र पुनःस्थापित हुनु एउटै कुरा भएको बताउनुभयो।
‘तर पनि राजावादीहरुलाई निश्तेज पार्न गणतन्त्रपक्षधरहरुको एकता आजको आवश्यकता भएको छ’ उहाँले भन्नुभयो । कार्यकारी अध्यक्ष नेपालीले दलहरु आन्तरिक खिचलोमा फसेका कारण देशको राष्ट्रियता झन धेरै कमजोर भएको बताउनु भयो । संघीयताका कारण जनताको आन्दोलनका उपलब्धी गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको उहाँको भनाई थियो ।
संघीयताको अन्त्यविना देश सम्बृद्ध हुन नसक्ने साथै गणतन्त्र र धर्मनिरपेक्षाताको समेत रक्षा हुन नसक्ने बताउँदै उहाँले संघीयताको खारेजीका लागि आम नागरिकलाई आह्वान गर्नु भयो ।
‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ आयोजित विरोध सभामा राजमोका जिल्ला अध्यक्ष गणेश आचार्य र जिल्ला सहसचिव ऋषिराम पौडेलले समेत सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बसन्त पौडेलले गर्नू भएको थियो ।