नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–५ कठहवामा भारतीय पक्षले नेपाली भूमिमा कल्भर्ट बनाउन अवरोध गरेको छ । ०२८ सालमा निर्माण भएको पुरानो कल्भर्ट भत्काएर नयाँ बनाउने क्रममा भारतीय सुरक्षा बल एसएसबीले बल प्रयोग गरी निर्माण कार्य रोकेको हो ।
भारतीय पक्षको दादागिरीप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ति प्रकाशित गरी राजमो नवलपरासी (ब.सु.प.) अध्यक्ष कृष्णबहादुर अधिकारीले घटनाको निन्दा गर्दै कल्भर्ट निर्माणकार्य सुचारु गराउन माग गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नवलपरासी जिल्ला प्रतापुर गाउपालिका वार्ड नं. ६ कठहवामा ०२८ सालमा निर्माण भएको पुरानो कल्भर्ट भत्काएर नेपाली भूमीमै नयाँ कल्भर्ट निर्माण सरु भएको दशौं दिन (मंसिर २२ गते सोमबार) भारतीय सुरक्षा बलले बल प्रयोग गरी निर्माण कार्य रोकेको घटनाप्रति घोर भत्सना गर्दछौं । साथै नेपाल सरकार तथा सम्बन्धित निकायसँग नेपाली भूमीको रक्षा गर्दै तत्काल कल्भर्टको निर्माण कार्य सुचारु गराउन माग गर्दछौं ।’
यस्तै, राजमो नवलपरासीले ‘गणतनत्र,राष्ट्रियता र धर्म निर्पेक्षताको रक्षा गारैं । संघीयता र भ्रष्टचारको विरुद्व संघर्ष गरौं’ भन्ने मूल नारासहित मंसिर २५ गते बर्दघाट, त्रिबेणी चोकमा कोण सभा गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी पुष १० गते सम्म जिल्लाब्यापी पर्चा वितरण गर्ने तथा पुष ४ गते सुनवल, परासी हुलाकी मार्ग हुँदै गोपिगञ्ज, जिमरेभार, बदर्घाट, भुताहा, भुमहि क्षेत्रमा कोण सभा र पुष ८ गते प्रतापुर र सुस्ता गाउँपालिका क्षेत्रमा पर्चा वितरण एवं कोण सभा गर्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।