काठमाडौँ । नेपालको जलविदुत आयोजनामा लगानी गर्न रुसले इच्छा देखिएको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मङ्गलबार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा जाहेर गरेको हो ।
रुसका दुई ठुला बैङ्क लान्टा र मस्को इन्डस्ट्रियल बैङ्क नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिनुभयो । त्यस्तो लगानी सरकार–सरकारबिचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ ।
राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरणसम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । यस्तै, नेपालमा विद्युत र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो ।
रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत आफ्नै उद्योगमा खपत गर्न सकिने÷नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो । प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रूपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताउनुभयो ।
सो क्रममा मन्त्री पुनले आगामी१० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिँदै बढी भएको विद्युत निर्यात गर्न भारत र बङ्गलादेशसँग विद्युत व्यापार सम्झौता गरिसकिएको बताउनुभयो ।
मन्त्री पुनले भारत र बङ्गलादेशमा पर्याप्त माग रहेकाले विद्युत बजारको अभाव नरहेको बताउनुभयो । भारतीय ग्रिड प्रयोग गरेर बङ्गलादेश विद्युत निर्यात गर्ने गरी भारतसँग सैद्धान्तिक सहमति भइसकेकाले बजारको चिन्ता लिनुपर्ने अवस्था नरेहको मन्त्री पुनको स्पष्टोक्ति थियो । नेपाल–भारत ‘पावर एक्सचेन्ज’ सम्झौतानुसार हाल दुवै देशले आवश्यकतानुसार विद्युत लिने÷दिने गरिरहेको भन्दै उनले गत वर्ष मात्र नेपालले वर्षायाममा ३५ करोड रुपैयाँको विद्युत भारतलाई बेचेको उहाँले बताउनुभयो ।





