काठमाडौं । राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ !’ भन्ने नाराका साथ सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ ।
केन्द्रीय कार्यालयको तर्फबाट दिउँसो १ बजे आयोजना हुने कार्यक्रममा जोडिन राजमोले पार्टी सदस्यसँगै आम जनसमुदायसँग आग्रह गरेको छ । यसबाहेक मंसिर २५ गते जिल्लास्तरमा देशव्यापी तथा प्रवासमा रुपमा खुला सभा तथा कोणसभा हुनेछन् भने मंसिर २६ गतेदेखि पौष १० गतेसम्म जिल्ला, पालिका वा वडा स्तरमा सभा, कोणसभा, अन्तरक्रिया, पर्चा वितरण, विरोध प्रदर्शन, जुलुस, दौड, मोटरसाइकल ¥याली र अनलाइनबाट समेत कार्यक्रम गर्ने राजमोले जनाएको छ ।
सोमबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रमबारे जानकारी दिनुभएको छ । वक्तव्यमा भनिएको छः
१) हाम्रो ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ !’ भन्ने मूल नाराका साथ हुने संघर्षका कार्यक्रमको स्वरुपमा केही फेरबदल गरिएकोले त्यसको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।
२) भोलि मंसिर २२ गते १ बजे राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा हुने ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ !’ भन्ने विषयमा हुने अनलाइन कार्यक्रम यथावत् छ । त्यसमा पार्टीका साथीहरु र जनसमुदाय समेत जोडिन सक्नुहुने छ ।
३) मंसिर २५ गते जिल्लास्तरमा देशव्यापी रुपमा खुला सभा तथा कोणसभाको कार्यक्रमहरु हुने छन् । यस्ता कार्यक्रमहरु प्रवासमा समेत हुने छन् ।
४) मंसिर २६ गतेदेखि पौष १० गतेसम्म जिल्ला, पालिका वा वडा स्तरमा सभा, कोणसभा, अन्तरक्रिया, पर्चा वितरण, विरोध प्रदर्शन, जुलुस, दौड, मोटरसाइकल र्याली र अनलाइनबाट समेत कार्यक्रम गर्न सकिने छ ।
५) उक्त कार्यक्रमहरुलाई व्यापकरुपमा सफल पार्न पार्टीका सबै स्तरका समिति एवं आम जनसमुदायहरुमा हार्दिक अपील गर्दछौँ ।
मिति २०७७ मंसिर २१ गते
चित्रबहादुर केसी
अध्यक्ष