सुमन आचार्य, चितवन ।
राष्ट्रिय जनमोर्चाले देशब्यापी आयोजना गरेको संघीयता विरुद्धको कार्यक्रम अन्तर्गत चितवनमा पनि आइतबार कोणसभा सम्पन्न गरिएको छ । नारायणगढस्थित पुल्चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेताहरुले विदेशबाट आयातित संघीयताले देशको राष्ट्रियता कमजोर बनाएको भन्दै संघीयताको खारेजी गर्नुपर्ने बताएका थिए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव एवं चितवन जिल्ला अध्यक्ष डम्बर पुरीले सम्बोधनका क्रममा अब देशले संघीय संरचना धानिरहन आवश्यक नभएको बताउनुभयो । उहाँले संघीय संरचनामा खर्च भएको ठुलो धनराशी कोरोना भाइरसको उपचार र विकास निर्माणमा लगाउनुपर्ने बताउनुभयो ।
फरक प्रशंगमा नेता पुरीले सत्तारुढ दल नेकपामा आएको विचलनको कारण राजावादीहरु सलबलाइरहेको उल्लेख गर्दैै आन्तरिक समस्या आन्तरिक रुपमै हल गर्न सत्तारुढ दललाई सुझाव पनि दिनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेघराज ढकालले सरकारले कालापानी लगायतका अतिक्रमित भूमि फिर्ता गर्न पहलकदमी नलिएको, एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्न लागिपरेको, भ्रष्टाचारको संरक्षण गरेको तथा कोरोना संक्रमण रोक्न र जनताको उपचार गर्न प्रभावकारी कदम नचालेको भन्दै सरकारको विरोध गर्नुभएको थियो ।
