पाल्पा । राष्ट्रिय जनमार्चाले पाल्पामा पनि संघीयता खारेजीको माग गर्दै विरोध कार्यक्रम गरेको छ । ‘संघीयता खारेज गरियोस्, कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालियोस्’ भन्ने नाराका साथ देशब्यापी राजमोले आज विरोधसभा गरेको हो ।
संघीयताले देश टाट पल्टँदै गएको र राष्ट्रियता कमजोर बनेको निष्कर्ष सहित संघीयता खारेजीका लागि संघर्ष गरिरहेको राजमोले पछिल्ला दिनमा संघीयताकै कारण कोरोना भाइरसविरुद्ध प्रभावकारी कदम चाल्न नसकिएको जनाएको छ । संघीयता अन्तर्गत प्रदेश संरचनामा खर्च भइरहेको अनावश्यक ठुलो धनराशी कोरोना संक्रमणविरुद्ध लगाउनुपर्ने राजमोको माग छ ।
सोही कार्यक्रम अन्तरगत पाल्पाको सदरमुकाम तानसेनको आन्दोलन चोकमा राजमोले विरोभसभा गरेको हो । राजमो जिल्ला सचिव तिलक गाहाको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य सोमकुमार कार्की, जिल्ला अध्यक्ष बिशाल दर्लामी,अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य नरमती सिंजाली,अखिल (छैठौं)का केन्द्रीय सदस्य पुरन पोख्रेले सम्बोधन गर्नुभएको थियो ।