काठमाडौं । चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपालको एक दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । रक्षामन्त्री वेई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल बोइङ ७३७ बिमान बिहान १० बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
चीनका पहिलो वरियताका स्टेट काउन्सिलर वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका हुन् ।
एक दिने नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईको व्यस्त भेटघाट तालिका रहेको छ । परराष्ट्र मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नेछन् । त्यहाँ दिवाभोज गरेपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नेछन् ।त्यसपछि बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् । त्यसपछि उनी आजै बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।
दक्षिणी छिमेकी भारतका विदेश सचिव हर्षवर्धन शृंगला फर्केको २ दिनपछि नै उत्तरी छिमेकी चीनका रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
वेईको नेपाल भ्रमणका क्रममा कानून कार्यान्वयन गर्ने निकायबीच सूचना आदानप्रदान, सैन्य क्षमता अभिवृद्धि, नेपाली सेनालाई प्रशिक्षण, जनमुक्ति सेना र नेपाली सेनाबीचको संयुक्त अभ्यासको निरन्तरता, जनमुक्ति सेनाका अधिकृतको नेपालमा तालिम, द्विपक्षीय सुरक्षा सहयोगअन्तर्गत अघिल्लो जेठमा घोषित १५ करोड आरएमबी बराबरको सैन्य सहयोग ‘प्याकेज’, कोरोनाका कारण स्थगन भएका सुरक्षा क्षेत्रमा सहयोग अभिवृद्धि गर्न दुवै देशका सुरक्षा अधिकारीबीच भ्रमणको आदानप्रदान तथा अन्य कार्यक्रमसहित विपत्ति रोकथाम तथा न्यूनीकरणबारे छलफल हुने विश्वास गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणपूरा भएको झण्डै एकवर्ष उहाँपछि उच्चस्तरमा पहिलोपटक हुन लागेको यो भ्रमणलाई चीनले नेपाललाई प्राथमिकतामा राखेको देखिएको छ ।
तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा जाँदा गरेको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री नेपालको एक दिने भ्रमणमा आएका हुन्।
