काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बर्दिबासमा मङ्सिर ९ गते हत्या भएकी बालिका गुलाब खातुनकी हत्यारामाथि कारबाही गर्न माग गर्दै उठिरहेको आन्दोलनमा गोली बर्साउनेमाथि कडा कारबाही गर्न माग गरेको छ ।
केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलको हस्ताक्षरमा २०७७ मङ्सिर ११ गते जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो ।
देशव्यापी रूपमा बालिकाको बलात्कार तथा हत्याका घटना निरन्तर घटिरहनुले देशमा शान्तिसुरक्षाको अवस्था अत्यतै कमजोर रहेको निस्कर्ष निकालिएको सो वक्तव्यमा दोषीउपर कडा कारबाही हुनुको सट्टा उल्टै न्याय माग गर्दै आन्दोलन गर्नेहरूमाथि गोली बर्साइएकोमा यस्तो माग गरिएको हो ।
बालिका हत्या प्रकरणमा उठेको आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ–
“महोत्तरीको बर्दिबासमा मङ्सिर ९ गते ६ वर्षीया बालिका गुलाब खातुनको हत्या गरिएको घटनाले हामीलाई स्तब्ध बनाएको छ । देशव्यापी रूपमा बालिकाहरूको बलात्कार र हत्याका घटना निरन्तर घटिरहनुले जनताको सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार गैरजिम्मेवार रहेको देखिएको छ ।
स्थानीय अरुण शाह भन्ने व्यक्तिले बालिकाको हत्या गरेको स्वीकार गरेका छन् । हत्यारालाई कारबाहीको माग गर्दै उठेको आन्दोलनमाथि प्रहरीले गोली चलाउँदा गम्भीर घाइते भएका स्थानीय सञ्जय न्यौपानेको पनि मृत्यु भएको छ । हत्यारालाई कारबाहीको लागि आन्दोलनमा उत्रिएका स्थानीयमाथि गोली चलाउनु राज्यआतङ्क हो । पीडितलाई न्याय दिनुको सट्टा न्याय माग्ने जनतामाथि नै गोली बर्साएर ठुलो अपराध गरिएको छ । बालिकाको हत्यारा तथा जनतामाथि गोली चलाउने र गोली चलाउन आदेश दिने अधिकारीमाथि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न माग गर्दछौँ ।
बालिका गुलाब खातुनको हत्या गरेका अरुण शाह भन्ने व्यक्ति केही महिनापहिले आफ्नै साथीको हत्या अभियोगमा पक्राउ परी अदालतबाट धरौटीमा छुटेका थिए । हत्याजस्तो गम्भीर अपराधमा सामेल व्यक्तिलाई धरौटीमा रिहाइ गरिनु न्यायाधीशको गम्भीर लापरवाही हो भन्ने कुरा पुष्टि भएको छ । हत्यारालाई सामान्य धरौटीमा छोडिएकै कारण अपराधीको मनोबल थप हत्या गर्नेतर्फ गएको अरुण शाहका परिवारकै सदस्यले बताएका छन् । न्यायालयसमेत हत्यारालाई कारबाही गर्ने कुरामा गम्भीर नदेखिनुले न्यायको अवस्था धेरै नाजुक भएको देखिन्छ । यो निकै ठुलो चिन्ताको विषय हो ।
देशभर भइरहेका बलात्कार, हत्याजस्ता घटनामा छिटोभन्दा छिटो गम्भीर कदम चाल्न र पीडितलाई न्याय प्रदान गर्न माग गर्दछौं । हत्या गरिएकी बालिका गुलाब खातुनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै पीडित पक्षले न्यायका लागि गरिएका आन्दोलनहरूमा ऐक्यबद्धता प्रकट गर्दछौँ ।”