काठमाडौं । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाविरुद्ध आफ्नै कार्यकर्ताले ‘भ्रष्टाचारी’ भन्दै पर्चा छरेका छन् । काभ्रेको पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास गर्न पुगेका बास्कोटाविरुद्ध कार्यक्रस्थलमै पर्चा छरिएको हो ।
‘स्कुल जस्तो पवित्र संस्थाको शिलान्यास कस्तो हातले हुँदैछ ?’ सो पर्चामा लेखिएको छ, ‘विवादित माननीय भन्दा अन्य माननीयहरु, प्रदेशसभा सदस्य, मेयरले गरे नहुने होर शिलान्यास ?’
नेकपाका केन्द्रीय सदस्य रहेका बास्कोटा प्रधानमन्त्री ओलीनिकट हुन् । नेकपामा शक्ति संघर्ष चुलिँदै जाँदा एक गुटले अर्को गुटका नेताहरुलाई खुइल्याउने र दुर्व्यवहार गर्ने क्रम बढ्दै गएको छ ।
पूर्वमन्त्री बास्कोटाको ७० करोड लेनदेनसम्बन्धी अडियो बाहिरिएपछि उनले केही महिना अघि मन्त्रीपदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीनिकट भएकै कारण सो भ्रष्टाचार मुद्दामा कुनै छानबिन नभएको नेकपाकै कार्यकर्ताहरुले आरोप लगाएका छन् ।
यद्यपी आफू निर्दोष रहेको बताउँदै आएका बासकोटाले टेप प्रकरणको छानबिन गर्न चुनौती दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताए ।
‘भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन’ उनले भने ।
यसअघि उनले विद्यालयमा स्थापित आइसिटी ल्याबको उद्घाटन गरेका थिए ।