काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सीमा क्षेत्रको अवलोकन गर्न ताप्लेजुङ प्रस्थान गर्नुभएको छ । सोमबार बिहान सेनाको हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओलीको ताप्लेजुङको ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी जाने कार्यक्रम छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार प्रधानमन्त्री ओलीले फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गर्नुहुनेछ भने ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, प्रधानमन्त्रीले घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम छ । ताप्लेजुङबाट प्रधानमन्त्री ओली इलामको जौवारी जाने कार्यक्रम रहेको छ ।
कार्यक्रममा ओलीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसहित त्यस क्षेत्रका सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखहरु सहभागी रहेको बताइएको छ ।
प्रधानमन्त्री मंसिर ५ गते नै ताप्लेजुङ जाने कार्यक्रम तय भएपनि पार्टीको आन्तरिक विवादका कारण उक्त कार्यक्रम स्थगित भएको थियो । यसअघि उहाँ कात्तिक २५ गते संखुवासभाको किमाथांकालगायत सीमावर्ती क्षेत्र जानुभएको थियो ।