काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यसपालिको जाडो यामका लागि ढल्केवर–मुजफ्फरपुर लाइन मार्फत २ सय ५० मेगावाट सम्म विजुली आयात गर्न भारतले स्वीकृति दिएको बताएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर–मुजफ्फपुर लाइनमार्फत २ सय ५० मेगावाट सम्म विजुली आयात गर्न भारतले स्वीकृति दिएको बताउनुभएको छ ।
शाक्यले नियमित आयात भइराखेको भन्दा बढी विद्युत आयात गर्नुपर्ने अवस्थामा ल्याउन सक्नेगरी सम्झौता स्वीकृत भएको बताउनुभयो । जाडोयामको लागि अपुग बिजुली आयात गरी समस्या समाधान गर्नको लागि उक्त स्वीकृति लिएको पनि शाक्यले बताउनुभयो ।
विद्युत खपत बढाउनको लागि प्राधिकरणले अहिले देखिनै योजनावद्ध रुपमा काम गरिरहेको पनि कामु कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । अहिलेको मुख्य काम भनेको नै खपत बढाउनु भएको र त्यसका लागि औद्योगिक क्षेत्रमा ५ सय मेगावाट र अन्य क्षेत्रमा ४ सय मेगावाट विद्युत खपत गराउन सकिने अनुमान गरिएको पनि उहाँले बताउनुभयो । त्यसपछि पनि अधिक भएको विजुली निर्यात गर्नुको विकल्प भने देखिदैन । त्यसैले निर्यातका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव अगाडी बढाइसकेको शाक्यले बताउनुभयो ।
यस्तै विद्युत वितरणमा देखिएका केही समस्याहरुलाई समाधान गर्ने कार्यमा प्राधिकरण जुटेको पनि कामु कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । २०७३ सालमा ढल्केवर–खिम्ती लाइन जोडिएदेखि नै जोडन बाँकी रहेको काठमाडौं देखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोडन प्राधिकरण सफल भएको छ ।
ग्रिडका दक्ष इन्जिनियरहरुको टोलीले खिम्ती सबस्टेसनमा १ सय ३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी लुप जोडन सफल भएको हो । यसबाट स्विचिङ गर्दा लाइन काटनुपर्ने समस्याको अन्त्य भएको छ । यससँगै भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काटने र जोडनुपर्ने बाध्यता पनि हटने शाक्यले बताउनुभयो ।
विद्युत प्रसारमा देखिने यस्ता समस्या समाधानका लागि स्वदेशी इन्जिनियरिङ प्रणाली र स्वदेशी परामर्शदाताहरुको क्षमता अभिवृद्धि गर्दै जानुपर्नेमा शाक्यले जोड दिनुभयो ।