काठमाडौं । संखुवासभामा सोमबार प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरा गोली हानाहान भएको छ । चैनपुर नगरपालिका –४ मैदानेमा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले फयरिङ गरेपछि जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको संखुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताए । दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको उनले बताए।
प्रहरी परिचालन
त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।
घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन् । घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर समूहका कार्यकर्ताको खोजी तीव्र पारिएको र अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।