काठमाडौं । कोरोना संक्रमणसहित विभिन्न समस्याबाट ग्रस्त भइ उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ । पेटको दीर्घरोगसँगै डायरिया, निमोनिया, कोरोना संक्रमणका कारण अवस्था गम्भीर बनेका केसी राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्छ ।
आइतबार अस्पतालले दिएको जानकारी अनुसार उहाँको सबै समस्याहरुमा सुधार देखिएको छ । उहाँलाई डायरिया सञ्चो भएको छ भने ज्वरो हटेको छ । निमोनिया, प्रेसर, सुगर सबै कन्ट्रोलमा छ भने अक्सिजनको मात्रा पनि लेभलमा आएको छ ।
हिजोको तुलनामा आज केसीलाई खाना रुची भएको अस्पताललाई उदृत गर्दै अध्यक्ष केसीका भतिजा तुफान केसीले जानकारी दिनुभयो ।
उहाँलाई आजसम्म चार डोज रेम्डेसिभिर नामक औषधि दिइएको छ । भोलि थप एक डोज दिएपछि मंगलबार उहाँको पुनः स्वाव लिई कोरोना परीक्षण गरिनेछ ।
करिब एक महिना अघि भैरहवा जानुभएका अध्यक्ष केसी १५ दिन अघिदेखि बिरामी हुनुभएको थियो । केसीको अवस्था गम्भीर बनेपछि अघिल्लो मंगलबार काठमाडौं ल्याएर मेडिसिटीमा भर्ना गरिएको थियो । उहाँलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।