काठमाडौँ । संसदीय समितिले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ ।
सोमबार बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्न कानुन मन्त्रालयले गरेको निर्णय फिर्ता गर्न निर्देशन दिएको हो । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए ।
समिति सभापति शशी श्रेष्ठले सरकारले गरेको निर्णय र कानुन मन्त्रालयले गरेको निर्णयमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने अवश्यकता भए संसदबाट निर्णय गर्नुपर्ने, तर नभएको अवस्थामा निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वनयन नगर्न निर्देशन दिइएको बताइन् ।
उनले भनिन्– ‘सरकारले गरेको निर्णयमा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको निर्णयमा विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र सरकारी लिखितहरूमा औपचारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने गरिएकोमा अब उप्रान्त नेपालमा मात्रै लेख्ने भनेर भनेकोमा आवश्यकता भए संसदबाट गर्नुपर्छ, नभए फिर्ता गर्नुपर्छ भन्ने सबै माननीयहरूको भनाइ रहेकाले त्यो कार्यान्वयन नगर्न निर्देशन दिइन्छ ।’
समितिको निर्णयमा भने सत्तारूढ दलकै दुई जना सांसदहरूले फरक मत राखेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरु विजय सुब्बा र नवराज सिलवालले फरक मत राखेका हुन् ।
