काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै ऊर्जा मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो ।
यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।
कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । कोइराला निमित्त प्रमुख भएपछि शाक्य प्राधिकरणमा आएका थिएनन् । शाक्यलाई निमित्त कार्यकारी निर्देशक कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए ।
घिसिङको पुनर्नियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए ।
शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।
शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए ।
प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए ।