काठमाडौं । आफ्नो उत्पादनको मूल्य पाउनुपर्ने माग राख्दै आएका उखु किसानहरुले यही कात्तिक २७ गतेदेखि आन्दोलन थाल्ने चेतावनी दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै तत्काल भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् ।
आइतबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश कुमार मिश्रको अगुवाईमा मन्त्री भट्टलाई स्मरण पत्र बुझाइएको हो । उखु किसानहरुसँग गत वर्ष माघ महिना सरकारले गरेको लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै उद्योगमन्त्रीलाई उखु किसानहरुले स्मरणपत्र बुझाएका हुन् ।
मधेशका श्रद्धाको पर्व ‘छठ’भन्दा अघि किसानहरूको सम्पूर्ण रकम भुक्तानी भएन भने छठ पर्वपछि मंसिर २७ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई सिंहदरबार घेर्ने चेतावनी उखु किसानले दिएका छन् ।
किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानहरुको सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिएका छन् । मन्त्री भट्टले किसानलाई भने, ‘उखु किसानका भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयमा परिपत्र गरिनेछ। जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं ।’





