खुम रायमाझी, कुवेत ।
पश्चिम नवलपरासीको बर्दघाट–४ का थानेश्वर कंडेल र राजेश कंडेल दाजुभाइले दैनिक ३ सय ५० लिटर भन्दा बढी लिटर दुध बेचेर आम्दानी गर्दै आएका छन्। यी दाजुभाइ एउटै आमाबाबुका सन्तान भने होइनन्, भाइभाइका सन्तान हुन् । थानेश्वर यूएईबाट फर्किएका हुन् भने, राजेश कुवेतबाट फर्किएर यो पेशामा लागेका हुन् ।
उनीहरुको गोठमा अहिले ३२ माउ भैंसीसहित ५० वटा सानाठुला भैंसी छन्। कंडेल दाजुभाइले मासिक ८ लाख रुपैयाँ बढिको दुध बिक्री गर्ने गर्दछन् । फार्ममा ६ जना कामदारलेसमेत रोजगार पाएका छन् । उनीहरूकहाँ गोठबाटै दैनिक ३० देखि ३२ हजारको दुध बिक्री हुन्छ । फर्म सञ्चालक राजेश कंडेलका अनुसार मासिक रुपमा दाना र परालमा ३ लाख बढी खर्च हुन्छ ।
कृषि व्यावसायी राजेशले भने, ‘पारिश्रमिक र बैंक ब्याजलगायतको खर्च हुन्छ र भैंसी थप पनि गर्दै आएका छौँ । सधैँ एकैनाशको आम्दानी नहुने भएकोले वार्षिक कति हुन्छ भन्न सकिन्न ।’
गोठमा दुध लिन बिहानै उपभोक्ताहरुको लाइन लाग्ने गर्दछ । डेरीमा अझसम्म दुध बेच्नु नपरेको उनी बताउँछन् । नगरपालिकाले घाँसका बिउ र केही सामान सहयोग गरेको उनले बताए ।
‘अनुदान पाए अझ धेरै गर्न सक्थ्यौ,ँ’ कंडेलले भने, ‘मेहनत गरे जस्तै पनि भएको छ, उत्साही छौँ।’
सरकारी अनुदानका ठूला कार्यक्रम आफू कहाँ नआएको उनको भनाई छ। गोठबाटै प्रतिलिटर रु ८० मा दुध बिक्री हुने गरेको छ। कंडेल दाजुभाइको निकै राम्रो मेहनत रहेको छिमेकी रूपेनबिक्रम हमालले पनि बताए।
बर्दघाट नगरमा ७ हजार लिटर दुध उत्पादन हुन्छ, नगर दुधमा आत्मनिर्भर हुने अवस्थामा छ। नगरप्रमुख धीरज शर्मा बस्यालले नगरले कृषकमुखी योजना ल्याएको बताएका छन् ।
कृषिबाटै नगरको समृद्धि हुने भएकोले कृषकका योजना प्राथमिकतामा राखेको नगरप्रमुख बस्यालको भनाई छ।
‘नगरपालिकाले सिजन अनुसार घाँसका बिउ, गोठ सुधार तथा पशुमा उन्नत नश्लको सिमोन, थुनेलो रोकथाम र बिभिन्न भ्याक्सिनका कार्यक्रम गर्दै आएको छ’ पशुपन्छी विकास शाखा प्रमुख भरत लम्साल थपे, ‘प्राबिधिक परामर्श पनि दिएकै छौ ।यहाँ भएका कार्यक्रम हामीले दिएका छौँ ।’
हालसम्म नगरमा १ सय ४२ वटा गाई र भैँसीका फार्म रहेका छन्।





