नारायण श्रेष्ठ
अहिले विश्वकै ध्यान मंगलवार (नोभेम्बर ३) मा अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनले तानेको छ । रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र भूतपूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका नेता जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
चुनावअघिका मत सर्वेक्षणहरूमा बाइडन अगाडि देखिन्छन् । यसपालि ऐतिहासिक रूपमा करोडौँ मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गर्न पाउने सुविधाअन्तर्गत चुनावको दिन अगाडि नै मत दिइसकेका छन् ।
नेपालमा पनि अमेरिकी चुनावलाई लिएर चासो छँदैछ, त्यसमाथि दशौँ हजार नेपाली मूलका अमेरिकीहरूको निम्ति त यो सोझो चासोको विषय बनेको छ।
चुनावको पूर्वसन्ध्यामा कस्तो वातावारण ?
अमेरिकाका ५० वटा राज्य र वाशिङ्टन डीसीमध्ये कतिपय स्थानमा चाँडो मत हाल्न पाउने सुविधाअन्तर्गत धेरैले मतदान गरिसकेका छन् । अहिले नोर्थ क्यारलाईना, विस्कन्सिन, पेन्सल्भेनिया, मिशिगनजस्ता केही राज्यमा प्रचारप्रसार केन्द्रित देखिन्छन् किनभने तिनले नै चुनावको नतिजा कतापट्टि ढल्किन्छ भन्नेमा विशेष प्रभाव पार्ने ठानिन्छ ।
चाँडो हालिएका मतपत्रहरू कसरी गणना गरिन्छ वा कति छिटो तिनको गणना हुन्छ भन्नेबारे पनि प्रश्नहरू उठेका छन् । गणनापछि नतिजा चुनावको दिनलगत्तै आउँछ कि आउँदैन भन्नेमा पनि धेरै चासो देखिन्छ ।
डोनल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल अर्को चार वर्षले थपिन्छ कि बाइडनले जित्नेछन् भन्नेबारे कताकता डर र चिन्ताको मानसिकता अमेरिकी मतदातामा देखिन्छ ।

कुन मुद्दामा धेरै केन्द्रित भएको छ यो चुनाव ?
विश्वमै सबैभन्दा धेरै संक्रमित र मृत्यु भएको हुनाले यहाँ कोभिड(१९ नै यसपालि प्रमुख मुद्दा बनेको छ । यसलाई वर्तमान प्रशासनले कसरी व्यवस्थापन गरेको छ अनि त्यो सही छ कि छैन भन्ने बहस भएका छन् ।
कोभिडसँग जोडिएका स्वास्थ्यका अन्य मुद्दामा रिपब्लिकन र डेमोक्र्याटिक दलका अजेन्डा के छन् भन्ने पनि प्रमुख चासो बनेको छ ।कोभिडकै कारण निकै अप्ठेरोमा परेको अर्थतन्त्र दोस्रो प्रमुख चासोमा छ ।
अर्को प्रमुख मुद्दा आप्रवासीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै छ ।अमेरिका संसारकै सबभन्दा धेरै आप्रवासी आउने मुलुक पनि हो ।
त्यसपछि धेरैले चासो राख्ने अर्को मुद्दा भनेको अमेरिकाको विश्वमञ्चमा प्रभाव र हैसियतको निरन्तरता पनि हो । ट्रम्पको कार्यकालमा अमेरिका प्यारिस जलवायु सम्झौताजस्ता बहुपक्षीय सम्झौताबाट अलग्गिएको थियो ।
नेपाली मूलका अमेरिकी नागरिकको चासो कस्तो ?
अमेरिकामा नेपाली र नेपालीभाषी भुटानी गरी लगभग पाँचलाख नेपालीभाषी भएको अनुमान छ । स्वभावैले अलि उदार मुद्दाहरूमा यो समुदायको केही बढी झुकाव देखिन्छ ।
उदाहरणका लागि योभन्दा पहिले अमेरिकी नागरिक वा गैरनागरिक नेपालीहरूले पनि आफ्ना परिवारका सदस्यका लागि यहाँको स्थायी बसोबास सुविधा वा ग्रीनकार्ड लिँदाखेरि दुई(तीन पन्नाको निवेदन दिए पुग्थ्यो ।
तर अहिले १२–१५ पन्ना भर्नुपर्छ । त्यो खालको अप्ठेरोदेखि लिएर विद्यार्थीहरूले कति घण्टा काम गर्न पाउने भन्ने जस्ता विषय यो समुदायको चासोमा परेका छन् । अर्कोतिर साना व्यापार व्यवसाय गर्नेहरूका निम्ति चाहिँ सरकारले यो कोभिडका कारण परेको प्रभावबाट जोगिन के कस्तो राहत दिन सक्छ वा ऋणको ब्याजदर के हुन्छ भन्ने कुरामा ध्यान दिइरहेका छन् ।
ट्रम्पले वा बाइडनले जिते त्यसको अमेरिकामा र अन्यत्र कस्तो असर पर्ला ?
अमेरिकाभित्र ट्रम्पको थप चारवर्षे कार्यकाल भयो भने रङ्गको आधारमा गरिने राजनीति सम्भवतः अझ बढी जब्बर भएर आउन सक्छ । त्योबाहेक आप्रवासीहरूलाई हेरिने सवाल, अर्थतन्त्र र अमेरिकी(केन्द्रित रोजगारी प्रमुख भएर आउँछन् होला ।
अन्तर्राष्ट्रिय सन्दर्भमा थप चार वर्षको ट्रम्प प्रशासनको अर्थ विश्वमा अमेरिकी उपस्थिति अझै फितलो र पातलो हुँदै अमेरिकी नेतृत्वको अवस्था परिवर्तन हुनसक्छ ।
बाइडन राष्ट्रपतिमा चुनिए भने चाहिँ डेमोक्र्याटिक पार्टीले अँगाल्ने उदार नीतिहरू आप्रवासी तथा देशभित्रकै जातिय सवालमा मुखरित हुनसक्छ। अन्तर्राष्ट्रिय बहुपक्षीय साझेदारीमा अमेरिका फर्कन सक्छ । अन्तर्राष्ट्रिय सन्दर्भमा चाहिँ बाइडन प्रशासनले शायद अमेरिकाको गुमेको साखलाई जोगाउने कोशिश गर्नेछन् ।
(पत्रकार नारायण श्रेष्ठसँग बीबीसीले गरेको कुराकानीमा आधारित)