काठमाडौं । काठमाडौंमा रहेका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन् । उनले नेतात्रयसँग बेग्लाबेग्लै रुपमा गोप्य भेट गरेपनि कुन नेतासँग के कुराकानी भयो भन्ने खुलेको छैन ।
बुधबार नेपाल आएका गोयलसँग पूर्व प्रधानमन्त्री प्रचण्ड र नेपालले सोल्टी होटल पछाडिको एउटा घरमा गोप्य भेटवार्ता गरेको सुरक्षा स्रोतले जनाएको छ ।
गोयल नेतृत्वको नौ सदस्यीय ‘रअ’ टोलीका निम्ति काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिका होटल र होटल हायातमा बस्ने व्यवस्था मिलाइएको छ । तर ती दुवै होटलमा नभइ अर्कै घरमा प्रचण्ड र नेपालको गोप्य भेटवार्ता भएको हो । केही निजी सुरक्षा गार्ड लिएर गोयललाई भेट्न गएका प्रचण्डले आफ्नो सचिवालयलाई समेत जानकारी नदिएको बताइएको छ ।
सुरक्षा स्रोतका अनुसार माधव नेपालसँग पनि गोयलले सोल्टी पछाडिको त्यही घरमा भेटेका थिए तर प्रचण्ड र नेपाल सँगसँगै भेटवार्ता भयो वा छुट्टाछुट्टै भन्ने प्रष्ट भएको छैन ।
सोल्टी पछाडिको घरमा भएको त्यो भेटपछि प्रचण्ड र नेपाल फेरि द्वारिका होटल पुगेको र त्यहाँ गोयलसँग थप कुराकानी भएको सुरक्षा स्रोतहरूको दाबी छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि गोयलसँग बुधबार राति नै गोप्य भेट गरेका छन् । प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेको बताइए पनि भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलिसकेको छैन ।
सुरक्षा स्रोतहरूका अनुसार गोयलको भेटघाटको सूचीमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र शशांक कोइराला, जसपाका नेता बाबुराम भट्टराई र महन्थ ठाकुर लगायत थिए।
एक दिनका लागि भनेर काठमाडौं आएका गोयल राजनीतिक भेटघाट नसकिएको जनाउँदै गोयल आज (बिहीबार) मात्र दिल्ली फर्कने बताइएको छ । गोयलको नेपाल भ्रमणलाई पछिल्लो समय नयाँ दिल्लीले नेपालमा पारेको प्रभावका रुपमा हेरिएको छ ।
यसैबीच प्रचण्डको सचिवाले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग प्रचण्डले भेट गरेको भन्ने समाचारमा सत्यता नरहेको दाबी गरेको छ ।
बिहीबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रचण्डसँग भेट गरे भनेर समाचार लेख्नु भ्रम भएको बताएका हुन्।
