काठमाडौं । नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीप्रति सरकारले वेवास्ता गरेको भन्दै कडा रोष प्रकट गरेको छ । कांग्रेस पूवक्ता विश्वप्रकाश शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको भन्दै वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्ने चेतावनी दिइएको छ ।
सरकारले विगतमा पूरा गरिएका माग एकातर्फ उल्टाएको तथा नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार नदेखाएको कांग्रेसको आरोप छ।
अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गरिएको भन्दै कांग्रेसले प्रश्न गरेको छ, ‘खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि- लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ?’
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ । तर सरकारले केसीसँग वार्ता गर्नेबारे कुनै चासो दिएको छैन । डा. केसीलाई समर्थन गर्दै आवासीय चिकित्सक तथा सर्वसाधारणले धर्ना, घेराउ लगायतका कार्यक्रम गरिरहेका छन् ।