काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयताको औचित्य नभएको बताउनुभएको छ । मंगलबार ट्वीट गर्दै थापाले संघीयताको पाँच वर्षे अनुभवबाट यसको आवश्यकता छैन भन्ने प्रमाणित भइसकेको बताउनुभएको हो ।
थापाले प्रदेश र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्न पनि जोड दिनुभएको छ । राप्रपाले यसअघि संघीयता आवश्यक छ कि छैन भन्नका लागि जनमत संग्रह गर्नुपर्ने बताउँदै आएको थियो ।
ट्वीटरमा थापाले ५नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्यको पनि निन्दा गर्नुभएको छ ।
‘प्रदेश ५ प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ’, सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष थापाले लेख्नुभएको छ, ‘यो घटनाको कारणले मात्र होइन, संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्यक छैन भन्ने प्रमाणित भएको छ । केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गरौँ ।’
५नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।
यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ।केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ— Kamal Thapa (@KTnepal) October 6, 2020
सोमबार प्रदेश ५ को बैठकमा प्रदेशको राजधानी दाङको देउखुरीमा प्रस्ताव गरिएपछि असन्तुष्ट कांग्रेसका सांसदहरुले तोडफोड गरेका थिए भने मन्त्री कूलप्रसाद केसीले सांसदलाई ‘घिसारेर बाहिर निकाल’ भन्दै मर्यादापालकलाई आदेश दिएका थिए ।
प्रदेश ५ मा हिजो भएको घटनापछि आम नेपालमा संघीयताको औचित्य नभएको भन्दै यसलाई खारेज गर्न आवाज उठिरहेको छ । सोमबार नै पूर्वमन्त्री एवं सत्तारुढ नेकपाका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै संघीयताको देशलाई किन आवश्यक परेको हो आफूले अझै बुझ्न नसकेको बताउनुभएको थियो ।

