काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको समय थप गरिए पनि केही सहज बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढामगरले स्वास्थ्य प्रोटोकल पालना गरेर कतिपय सेवाहरु सहज बनाउने निर्णय भएको जानकारी दिनुभयो ।
यसअघि गरिएको दुई साता लामो निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निशेधाज्ञा सुरु भएको हो । पछिल्लो समय थप गरिएको एक साता लामो निषेधाज्ञा आज मध्यराति देखि सकिँदैछ ।
जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका थिए । तीनवटै जिल्लाका सीडिओहरुले गृह मन्त्रालयको सुझाव अनुसार केही खुकुलो बनाउँदै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।