सन्तोष गौतम, बेनी ।
अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउनका लागि आएका पर्यटकको चहलपहल बढेको छ ।
घोडेपानी, पुनहिल, खोपारा, सिँगा तातोपानी, भुरुङ–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से, गलेश्वरलगायतका पर्यटकीय स्थलमा बिहिबारदेखि पर्यटकको आगमन सुरु भएको हो ।
बेनी नगरपालिका–९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले बडादसैँको टिकालगत्तै पर्यटक आगमन बढेको बताए ।
‘असोजको दोस्रो साताको कालीगण्डकी बाढीका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा शून्य जस्तै भएको पर्यटक आगमन बिहिबारदेखि बढ्न थालेको छ’ उनले भने– ‘मर्मतपछि मुस्ताङ जोड्ने सडकमा यातायात सञ्चालन भएकाले दसैँतिहारको बिचमा पर्यटक आगमन बढेर थलिएको ब्यापार ब्यवसाय चलायमान हुने अपेक्षा गरेका छौँ ।’
असोज ८ देखि ११ गतेदेखिको निरन्तरको झरीपछि पहिरो र कालीगण्डकी बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको छ । विगतका तथ्याङ्क अनुसार शरदयामको असोज–कात्तिक म्याग्दीमा सबैभन्दा धेरै विदेशी पर्यटक आगमन हुने महिना हो ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय स्थल घोडेपानीका होटल व्यवसायी समेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढीले विगतका वर्षको सङ्ख्यामा विदेशी पर्यटक आउन नसकेपनि बडादसैँतिहारको बिदा मनाउन पदयात्राका लागि आन्तरिक पर्यटकको प्रतीक्षामा रहेको बताए ।
‘घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्ग सुरक्षित छ‘ उनले भने– ‘बाढीपहिरोले क्षति पुगेको सडक र पदमार्ग मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने बनाइएकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरेका छौँ ।’
घोडेपानीदेखि ४५ मिनेट उकालो हिडेपछि पुगिने समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल सूर्योदय र हिमशृङ्खला तथा पदयात्राका लागि अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य मानिन्छ ।
पदयात्राका साथै बेनी नगरपालिका–४ मा रहेको सिँगा तातोपानी कुण्ड प्राकृतिक उपचार र अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ–तातोपानी कुण्ड पर्यटकीय हिसाबले परिचित छ । म्याग्दी नदीको बाढीका कारण क्षति पुगेको सिँगा तातोपानी कुण्ड मर्मतपछि असोज अन्तिम हप्तापछि सञ्चालनमा ल्याइएको छ ।
अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा र मुस्ताङ जानेआउने पर्यटकको थकान मेटाउने थलोका रुपमा विकसित अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी र पाउद्धार तातोपानी कुण्ड सुरक्षित रहेका छन् ।
भुरुङ–तातोपानीका सञ्चालक प्रितम पुर्जाले करिब एक महिनापछि पर्यटक आगमन हुन थालेको बताए ।
भुरुङ–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दु हो । म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य स्थलको रूपमा विकास भएको यो पदमार्ग पनि बिपद्बाट बचेको छ ।
भुरुङ–तातोपानीको होटल व्यवसायी काजी थापाले बिहिबार करिब एक सय ५० जना आन्तरिक पर्यटकहरु अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका बताए ।
रुप्से झरना परिसरमा चियापसल सञ्चालन गरेकी छुमा पाइजाले करिब एक महिनापछि पर्यटकको चहलपहल हुन थालेको बताइन् ।
चितवनका रमेश पाण्डेले बडादसैँ बिदा मनाउनका लागि मुस्ताङ भ्रमणका आएको बताए । बस, जिप, मोटरसाइकललगायत सवारी साधनमा सहज रूपमा म्याग्दी हुँदै मुस्ताङ भ्रमणमा जान सकिने उनले बताए ।
मर्मतमा जस्तै क्षतिग्रस्त सडक र पदमार्गको पुन:निर्माणलाई पनि तिब्रता दिन सकेमा म्याग्दी र मुस्ताङको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सकिने अपेक्षा गरिएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले पर्यटकीय याम भएकाले सडक मर्मत गरी सहज रूपमा यातायातको साधन सञ्चालनको वातावरण बनाउन काम भइरहेको जानकारी दिए । (रासस)





