काठमाडौँ । तारकेश्वर नगरपालिकाले बिसौँ एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई नगदसहित सम्मान गरेको छ ।
२०८३ असोज ३० गते शुक्रवार आयोजित एक कार्यक्रममाझ शेर्पालाई २५ हजार नगद र प्रशंसा प्रदान गरिएको हो ।
तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र तारकेश्वर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले तेन्जिङलाई सम्मान प्रदान गरेका थिए ।
जापानको आइची–नागोयामा भएको बिसौँ एसियाली खेलकुदको करातेतर्फ पुरुष ८४ केजीमुनि तेन्जिङले कास्य जितेका थिए । बिसौँ एसियाडको करातेमा नेपालका लागि तेन्जिङले मात्र पदक जिते । तेन्जिङको पदक बिसौँ एसियाडमा नेपालले जितेको पहिलो पदक पनि हो ।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कास्य पदक पक्का गरेका थिए ।
समग्र एसियाडको करातेमा नेपाललाई पदक दिलाउने तेन्जिङ पाँचौँ खेलाडी हुन् । यसअघि एसियाडमा करातेले १ रजत र ३ कास्य जितेको थियो ।
सन् १९९४ को हिरोसिमा एसियाडमा सीता राई, सन् १९९८ को बैङ्कक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कास्य तथा सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत जितेका थिए ।
बिसौँ एसियाडमा नेपालले करातेमा सहित २ कास्य जितेको थियो । अर्को कास्य महिला कबड्डी टोलीले जितेको थियो ।





