गोरखाबजार । बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।
आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका हुन् ।
उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरिएको शर्माले बताए ।
उनका अनुसार बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका ९६ जनाको उद्धार भएको थियो । सोमबार तीन सय २१ र मङ्गलवार एक सय ८६ जनाको उद्धार भएको हो । बुधबार भने चार सय ४१ जनाको उद्धार भएको सहायक प्रजिअ शर्माको भनाइ छ ।
उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको शर्माले बताए । बाढीले सडक सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलिकोप्टर प्रयोग गर्नुपरेको उनी बताउँछन् ।
‘राहत वितरण गर्नका लागि पनि हेलिकोप्टरकै प्रयोग भइरहेको छ । यताबाट उद्धार गर्न जाने हेलिकप्टरले राहतका सामग्री लाने र उताबाट आउँदा मान्छेलाई उद्धार गरेर ल्याउने गरेको छ’ उनले भने ।
रेडक्रसको सहयोग
यसैबिच नेपाल रेडक्रस सोसाइटीले बुढीगण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रतिकार्यलाई तीव्रता दिएको छ । रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले बाढीको क्षतिको आँकलनसहित तत्काल बाढी प्रतिकार्यमा स्वयम्सेवक परिचालन गरिएको र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याउन काम भएको जानकारी दिए ।
उनले भने– ‘बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयम्सेवकलाई परिचालन गर्यौँ । उहाँहरूले पूर्वसूचना प्रवाहित गर्नुभयो । प्रतिकार्य जारी छ ।’
बाढीको तत्काल प्रतिकार्यका लागि गैरखाद्य सामग्रीसहित अन्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम भएको र यो कार्य जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । महामन्त्री खनालका अनुसार हाल राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनाको सहकार्य र समन्वयमा नै गैरखाद्य सामग्री त्रिपाल (तारपोलियन), म्याट्रेस, ब्ल्याङ्केट, डिग्निटी किटलगायत प्रभावित क्षेत्रमा पठाइएको छ, साथै अस्पताल सञ्चालन गर्न सकिने ठुलाठुला दुइटा टेन्ट पनि प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिए ।
महामन्त्री खनालले भने– ‘क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको र थप आवश्यक गैरखाद्य सामग्री आज सरकारको समन्वयमा पठाइँदैछ । प्रभावित क्षेत्रमा मानवीय सेवा पुर्याउन स्वयम्सेवक तल्लीन छन् ।’ (रासस)





