काठमाडौँ । भारतले चीनसँगको व्यापार असन्तुलन घटाउने प्रयास गरे पनि चिनियाँ आयातमाथिको निर्भरता झन् बढ्दै गएको छ। सन् २०२० मा दुई देशबीचको व्यापार घाटा ४४ अर्ब अमेरिकी डलर रहेकामा यस वर्ष बढेर १ खर्ब १२ अर्ब डलर पुगेको छ।
गलवान उपत्यकामा सन् २०२० मा भएको सैनिक तनावपछि भारतले टिकटकसहित विभिन्न चिनियाँ एपमा प्रतिबन्ध लगाए पनि आर्थिक निर्भरता घटाउन सकेको छैन। भारतको औद्योगिक उत्पादनमा आवश्यक सामग्रीको ३० प्रतिशतभन्दा बढी हिस्सा चीनबाट आपूर्ति हुने गरेको विज्ञहरूको भनाइ छ।
भारतले स्मार्टफोन र सौर्य उपकरणजस्ता तयारी वस्तुको आयात घटाउँदै उत्पादन बढाए पनि तिनका लागि आवश्यक पार्टपुर्जा, औद्योगिक मेसिन, ब्याट्रीका सामग्री र रसायनमा चीनमाथिको निर्भरता कायम छ। भारतमा उत्पादन हुने आइफोनसमेत चिनियाँ पार्टपुर्जामा निर्भर रहेको विज्ञहरूले बताएका छन्।
चीनको विशाल उत्पादन क्षमता, सस्तो मूल्यमा वस्तु उपलब्धता र भारतीय उत्पादनको चिनियाँ बजारमा सीमित पहुँचले व्यापार असन्तुलन थप बढाएको विश्लेषकहरूको भनाइ छ। आयातको वर्तमान प्रवृत्ति कायम रहे भारतको व्यापार घाटा १ खर्ब ३४ अर्ब डलरभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।
सेप्टेम्बरमा दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले व्यापार असन्तुलन तथा आपूर्ति शृङ्खलाका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।
विज्ञहरूका अनुसार व्यापार घाटा घटाउन भारतले स्वदेशी उत्पादन क्षमता विस्तार, स्थिर औद्योगिक नीति, सुलभ विद्युत् तथा ऋणको व्यवस्था र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्छ। चीनमा औषधिजस्ता भारतीय उत्पादनको निर्यात बढाउन सकिने सम्भावना भए पनि त्यसले मात्र ठूलो व्यापार घाटा कम गर्न नसक्ने विश्लेषकहरूको निष्कर्ष छ।





