काठमाडौँ । गोरखा बुढीगण्डकीमा असोज २५ गते बिहान आएको आकस्मिक बाढीले दुईओटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ ।
प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको हो ।
त्यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले जनाएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबिच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको हो ।
प्रहरीका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ ।
प्रहरीका अनुसार धार्चे गाउँपालिका–५ माछिखोलास्थित तल्लो बस्तीमा बाढी पसेको छ । बाढीका कारण पाँच/सात घर र त्यत्ति नै सङ्ख्यामा टहरामा बाढी पसेको छ ।





