काठमाडौँ । पहिरो र सडक कटानका कारण काठमाडौँ आवतजावत गर्ने पृथ्वी, बीपी र कान्तिलोकपथ अवरुद्ध भएका छन्। दसैँ मनाउन घर फर्किएका हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
धादिङको गजुरी–५ गलौदीमा त्रिशूली नदीले सडक कटान गर्दा शुक्रबार साँझदेखि पृथ्वी राजमार्ग अवरुद्ध छ। ललितपुरको बागमती–३ टाकुर्चेमा पहिरो खस्दा शनिबार बिहानदेखि कान्तिलोकपथ बन्द भएको छ। त्यस्तै, काभ्रेको रोसी–९ पिन्थलीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पनि अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। निरन्तर वर्षाका कारण पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ।
यसैबीच, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।





