काठमाडौं, ३० असार । अविरल वर्षाका कारण पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका विभिन्न क्षेत्रमा बाढी र डुबान हुँदा ३५ जना विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी आफन्त तथा छिमेकीको घरमा आश्रय दिइएको प्रहरीले जनाएको छ।
Advertisement
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति गैँडाकोट–४ मा जंगलबाट आएको बाढी र नालाको पानी बस्तीमा पस्दा ९ घरका ३५ जनाको उद्धार गरिएको हो। घटनामा मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ।
यस्तै, गैँडाकोट–१५ मा वर्षाको पानी घरमा पस्दा वडा अध्यक्ष प्रेमराज तिमल्सिनाको घरमा राखिएको करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेका छन्। स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी पस्दा लत्ताकपडामा क्षति पुगेको छ।
प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।