काठमाडौँ । भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण ठप्प रहेको चिया निर्यात अन्ततः फेरि सुरु भएको छ ।
गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण ठप्प रहेको नेपाली चियाको निर्यात फेरि सुरु भएको हो ।
झन्डै दुई महिना लामो निकासी अवरोधले गर्दा इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । अहिले निकासी खुलेपछि उक्त चिया निर्वाध रूपमा भारतीय बजारमा पुग्ने विश्वास चिया व्यवसायीहरूले लिएका छन् ।
नेपाल चिया उत्पादक संघका अनुसार हिजो सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका २ वटा ट्रक नेपालको काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार पार गरेका छन् ।
चिया निकासीमा देखिएको यो गाँठो फुकाउन प्रधानमन्त्री कार्यालयबाटै विशेष चासो दिइएको थियो । नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले प्रधानमन्त्री कार्यालयकै प्रत्यक्ष हस्तक्षेपपछि नाका सहज भएको बताए ।