काठमाडौँ । असार महिना ११ गतेसम्मको नौ कार्यदिनमा मात्रै ७१ जना निजामती कर्मचारीले राजीनामा दिएको देखिएको छ ।
राष्ट्रिय निजामती किताबखानाको रेकर्डअनुसार उनीहरूको राजीनामा स्वीकृत भएर पेन्सनपट्टाको प्रक्रिया अगाडि बढेको हो ।
तथ्याङ्कअनुसार असार १ गते दुई जना, असार २ गते पाँच जना, असार ३ गते १० जना, असार ४ गते १२ जना, असार ५ गते १२ जना, असार ८ गते ११ जना, असार ९ गते छ जना, असार १० गते दुई जना र असार ११ गते ११ जनाले राजीनामा दिएको देखिएको छ ।
त्यस्तै, गत नौ दिनमा ८९ जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन् ।
किताबखानाको रेकर्डमा असार १ गते सात जना, असार २ गते आठ जना, असार ३ गते १० जना, असार ४ गते १० जना, असार ५ गते आठ जना, असार ८ गते छ जना, असार ९ गते ११ जना, असार १० गते १५ जना र असार ११ गते १४ जना अनिवार्य अवकाशमा गएका छन् ।
किताबखानाका अधिकारीका अनुसार यसअघि राजीनामा दिनेभन्दा अनिवार्य अवकाशमा जानेको सङ्ख्या २.६ प्रतिशतले बढी हुने गरेकोमा अहिले १.३ प्रतिशतमा झरेको छ ।
नयाँ सरकारले ल्याउने भनिएको निजामती कर्मचारीसम्बन्धी विधेयकमा राखिएका प्रावधानप्रति चित्त नबुझाएर तथा सरुवासम्बन्धी निर्णयप्रतिको असन्तुष्टिका कारण राजीनामा दिनेको सङ्ख्या बढेको हुन सक्ने बताइएको छ ।