काठमाडौं, असार ११ । अविरल वर्षापछि आएको आकस्मिक बाढीले भारतको अरुणाचल प्रदेशको केयी पन्योर जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परी हालसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने चार जना बेपत्ता रहेका छन्।
बाढीका कारण घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। पूसा क्षेत्र डुबानमा परेपछि अरुणाचल प्रदेश सरकारले भारतीय वायु सेनाको सहयोगमा उद्धार तथा राहत अभियान सञ्चालन गरेको छ। प्रभावित क्षेत्रमा राज्य विपद् प्रतिकार बल (एसडीआरएफ) का उद्धारकर्मी र राहत सामग्री हवाईमार्फत पुर्याइएको छ।
अधिकारीहरूका अनुसार क्षेत्रमा करिब ४८ घण्टासम्म लगातार वर्षा भएको थियो। भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा यातायात अवरुद्ध भएको छ भने करिब २० वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ।
यसैबीच, एनईईपीसीओले सावधानीका रूपमा रंगनदी बाँधबाट पानी छोड्न थालेको छ भने जलविद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको छ। सांसद तथा केन्द्रीय मन्त्री किरण रिज्जुले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।