काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा त्रुटिपूर्ण र अस्वाभाविक भएको आरोप लगाउँदै असन्तुष्ट विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले आफूहरूले गरेको मेहनतअनुसार अंक प्राप्त नभएको तथा उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन्। उनीहरूले नतिजामा गम्भीर त्रुटि भएको दाबी गर्दै पुनर्योग र पुनःपरीक्षण प्रक्रियालाई सहज, पारदर्शी र सर्वसुलभ बनाउन माग गरेका छन्।
प्रदर्शनकारीहरूले पुनर्योग र पुनःपरीक्षणका लागि निर्धारण गरिएको शुल्क अत्यधिक महँगो तथा अव्यावहारिक भएको भन्दै त्यसमा पनि पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन–ग्रेडेड’ (अनुत्तीर्ण) भएका छन्।
बोर्डले ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ। साथै, परीक्षा आचारसंहिता उल्लंघन गरेको आरोपमा दुई जना परीक्षार्थीलाई एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ।