काठमाडौँ । कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीहरू सरकारले पाँच दिनभित्र स्थान खाली गर्न निर्देशन दिएपछि अन्योल र चिन्तामा परेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेसँगै उनीहरू बसोबासको विकल्प खोज्न बाध्य भएका हुन्।
होल्डिङ सेन्टरमा बसिरहेकी विमला, जसका श्रीमान् भेषराजको २१ दिनअघि निधन भएको थियो, सानो बच्चा बोकेर कहाँ जाने भन्ने चिन्तामा छिन्। उनले कोठा खोज्दा सुकुमवासी भएको थाहा पाएपछि घरधनीहरूले कोठा दिन अस्वीकार गर्ने गरेको गुनासो गरिन्।
यस्तै, सीता खड्काले पनि बस्ने ठाउँको अभावले आफूहरू सडकमा पुग्ने अवस्था आएको बताइन्। नागरिकता र पारिवारिक पहिचानसमेत नभएकी उनले राज्यबाट स्थायी घरको अपेक्षा नगरे पनि शान्तिपूर्वक बस्न पाउने एउटा छानो चाहिएको बताउँदै भावुक हुँदै भनिन्, “छाना दिन सक्दैनौ भने गोली देऊ।”
२० वर्षदेखि गैरीगाउँको सुकुमवासी बस्तीमा बस्दै आएकी सीता सरकारले उपलब्ध गराउने भनिएको राहत रकमसमेत नागरिकता नभएकाले कसरी प्राप्त गर्ने भन्ने अन्योलमा छिन्।
कतिपय सुकुमवासीहरू भने फेरि खोलाछेउकै पुरानो बस्तीमा फर्किने तयारीमा छन्। उनीहरूले बस्नका लागि कोठा नपाए पुनः पाल टाँगेर पुरानै स्थानमा बस्नुपर्ने बाध्यता रहेको बताएका छन्।
सुकुमवासी बेलीमाया लिम्बूले २०६३ सालको ‘मेची–महाकाली’ अभियानपछि आफूहरूलाई सरकारी निकायले नै हालको क्षेत्रमा ल्याएर बसालेको दाबी गरिन्। उनले वर्षौँदेखि बसोबास गरिरहे पनि अझै स्थायी आवासको सुनिश्चितता नपाएको गुनासो गर्दै राज्यले भूमिहीन नागरिकको समस्याप्रति संवेदनशील हुनुपर्ने बताइन्।
होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूले आफूहरूको सुरक्षित आवास व्यवस्थापन नगरी विस्थापित गर्न खोजिएको भन्दै सरकारसँग उचित विकल्पको माग गरेका छन्।