• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच


  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित
  • म्याग्दी (बेनी) । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै शरीर छमछमी नाचिरहेको छ । थाल एकछिन पनि नखस्ने गरी निरन्तर घुमिरहेछन् ।

    Advertisement

    उमेरले सात दशक पार गरिसकेकी हिरामाया पुन श्रीषलाई यसरी थाली घुमाउँदै नाचिरहेको देख्दा दर्शक अझै पनि मन्त्रमुग्ध बन्छन् । अहिले धेरै कलाकारको रुचि र दर्शकको आकर्षण बन्ने गरेको थाली नाचको त्यो यात्रा उनै हिरामायाले पँधेरोमा थाली खेलाउने रहरबाट सुरु भएको थियो ।

    रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी हिरामायाले किशोरी उमेरमा पँधेरोमा थाल धोएर घर फर्किने क्रममा हातमा थाल घुमाउने गर्नुहुन्थ्यो । सुरुमा रमाइलो र खेलकै रूपमा थालेको त्यो अभ्यास विस्तारै एउटा अनौठो कला बन्यो । पछि गाउँका अग्रजहरूले उहाँलाई लोकभाकाको गीतमा थाल घुमाउँदै नाच्न लगाए । त्यही अभ्यासले जन्म दियो आज चिमखोलाको पहिचान र म्याग्दीको गौरव बनेको थाली नाचलाई ।

    “धारामा थाल धोएर घर फर्किने क्रममा थाल हातमै घुमाउँदै हिँड्थेँ, सुरुमा एउटा हातमा मात्रै थाल नचाउँथेँ, तर निरन्तर अभ्यासले दुवै हातमा एकैसाथ थाल घुमाउन सिकेँ,” उहाँले भन्नुभयो, “त्यसलाई देखेर गाउँका अग्रजहरूले गीतको भाकामा थाल नचाउन लगाए, नाचप्रति रुचि भएकाले मैले नृत्यसँगै थाललाई पनि लयबद्ध रूपमा नचाउन थालेकी हुँ ।”

    गीत, लय र नृत्यसँगै दुवै हातमा थाल सन्तुलनमा राखेर घुमाउनुपर्ने भएकाले थाली नाच अन्य लोकनृत्यभन्दा फरक र आकर्षक मानिन्छ । चिमखोलाको एउटा गाउँबाट सुरु भएको यो कला आज जिल्लाकै सांस्कृतिक चिनारीका रूपमा स्थापित भइसकेको छ । राष्ट्रिय मञ्चदेखि अन्तर्राष्ट्रिय कार्यक्रममा समेत थाली नाचले आफ्नो अलग पहिचान बनाएको छ ।

    यसको उत्पत्ति, संरक्षण, पुस्तान्तरण र विश्वव्यापी विस्तारको कथा केवल एउटा नृत्यको कथा होइन, समुदायको सांस्कृतिक पहिचान जोगाउने सङ्घर्ष र समर्पणको कथा पनि हो ।

    विसं २००८ मा चिमखोलाको जस्लाङमा जन्मिएकी हिरामायाका अनुसार त्यो समय महिलाहरूलाई सार्वजनिक रूपमा नाचगानमा सहभागी हुन परिवारको सहज स्वीकृति हुँदैनथ्यो । बुबाआमा घरमा नभएको बेला उहाँले थाली नचाउने अभ्यास गर्नुहुन्थ्यो । पछि हरेलो, दशैँ, तिहार, भूमे पूजा तथा विभिन्न मेला–पर्वहरूमा उहाँले थाली नाच प्रस्तुत गर्न थाल्नुभएको हो र यही कला विस्तारै गाउँको पहिचान बन्दै गयो ।

    सुरुआती समयमा कलाकारहरूले ‘चरेसको थाल’ भनेर चिनिने परम्परागत थाल नचाउने गर्थे । चरेसको थाल गह्रौँ हुने भएकाले सन्तुलन मिलाउन सजिलो हुन्थ्यो । समयक्रमसँगै त्यसको स्थान अहिले स्टिलका थालहरूले लिएका छन् ।

    थालको स्वरूप परिवर्तन भए पनि यसले बोकेको सांस्कृतिक महत्व उस्तै रहेको छ । चिमखोलाको पाखापखेरामा गुञ्जिने लोकभाकाहरूमा जब थालीको झनझनाहट मिसिन्छ, तब त्यहाँको वातावरण नै उत्सवमय बन्ने गर्छ ।

    एकल थाली नाचमा हिरामायाको ऐतिहासिक यात्रा
    करिब छ दशकअघि सुरु भएको अनौठो थाली नाचको जीवित इतिहासका रूपमा हिरामाया पुन श्रीष परिचित हुनुहुन्छ । पुनले २०३० सालको दशकसम्म तत्कालीन समयमा गाउँ, जिल्ला, अञ्चल, क्षेत्र हुँदै राष्ट्रियस्तरसम्म पुगेर थाली नाच देखाउनुभएको थियो । विसं २०२२ मा तत्कालीन मुस्ताङ जिल्लाको अस्थायी सदरमुकाम दानामा आयोजित सांस्कृतिक कार्यक्रममा पुनले १४ वर्षको उमेरमा नै थाली नाच प्रस्तुत गर्नुभएको थियो । त्यसबेला एउटी सानी बालिकाले हातमा थाल घुमाउँदै नाचेको देख्दा धेरैले आश्चर्य मानेका थिए ।

    विसं २०२५ मा राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँमा पहिलोपटक पुनले राष्ट्रियस्तरमा थाली नाच देखाउनुभएको थियो । “चिमखोला त्यो समयमा तत्कालीन मुस्ताङ जिल्लामा समेटिएको थियो, लोकनृत्यको लागि धौलागिरी अञ्चलबाट प्रतिनिधित्व गर्दै मैले थाली नाच देखाएँ, धेरैले मेरो नाचलाई अनौठो मानेका थिए, दुवै हातमा थाल नचाउँदै नाच्ने भएकाले मलाई चिनियाँ केटी भनेर पुरस्कार दिन अस्वीकार गरियो”, पुनले भन्नुभयो ।

    विभिन्न जिल्ला र अञ्चलबाट लोकनृत्यहरू लिएर समूहहरू आए पनि उहाँले थाली नाचमा देखाएको कौशल धेरैका लागि नयाँ विषय थियो । विसं २०३० मा तत्कालीन बडामहारानीको जन्मोत्सवमा काठमाडौँको महिला प्रशिक्षण केन्द्रमा भएको लोकनृत्य प्रतियोगितामा पुनले थाली नाच प्रस्तुत गरी तेस्रो भएर पदक र प्रमाणपत्रसहित पुरस्कृत हुनुभएको थियो । यो पुरस्कारले उहाँलाई मात्र होइन, सिङ्गो म्याग्दी र चिमखोलालाई नै राष्ट्रियस्तरमा चिनाउने ढोका खोलिदियो ।

    हिरामायाको यो साधनाले नै आज थाली नाचलाई यो उचाइमा पु¥याएको हो ।

    समूहमा थाली नाचको रूपान्तरण
    हिरामायाले एकल रूपमा देखाउने गरेको थाली नाचलाई समूहमा नचाउने र राष्ट्रियस्तरमा स्थापित गराउने काममा चिमखोलाकै अग्रज कलाकार धनकुमारी थापाले नेतृत्व गर्नुभयो । पुनको एकल कलाबाट प्रभावित बनेर थापाले पनि थाली नाच सिक्नुभएको थियो । “चाडपर्वको बेला हिरामायाले दुवै हातमा थाल राखेर नाचेको देखेपछि हामीले ताली बजाएर हेथ्र्यौं, उहाँको नाच हेर्दाहेर्दै मैले पनि हातमा थाल राखेर नाच्न जान्ने भएकी हुँ”, थापाले भन्नुभयो ।

    गाउँमा केही समय थाली नाच हराएर जाने अवस्थामा पुगेपछि थापाकै अग्रसरतामा सामूहिक रूपमा नाच सिकाउन सुरु गरियो । विसं २०३५ मा बेनीमा भएको लोकनृत्य प्रतियोगितामा थापाकै नेतृत्वमा चिमखोलाबाट आएको समूहले पहिलोपटक सामूहिक थाली नाच प्रदर्शन ग¥यो । विसं २०४२ मा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय लोकनृत्य प्रतियोगितामा धौलागिरि अञ्चलको प्रतिनिधित्व गर्दै थापाको नेतृत्वमा गएको समूह प्रथम हुन सफल भयो ।

    यसै प्रतियोगिताका माध्यमबाट ‘नेपालमा बनेको थाल, हातैमा नचाउँला झलल’ बोलको गीत रचना गरी समूहमा तालिम दिएर पहिलोपटक थाली नाचलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको थापा स्मरण गर्नुहुन्छ । म्याग्दीको एउटा गाउँबाट सुरु गरिएको थाली नाचले चर्चा पाएपछि २०४४ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा समेत थापाको नेतृत्वको टोलीले मौलिक भाकामा थाली नाच देखायो । उक्त समयमा तत्कालीन राजपरिवारका सदस्यहरूलाई समेत थाली नाच देखाइएको थियो । यस कार्यक्रमपछि थाली नाच अन्तर्राष्ट्रियकरण हुन सफल भयो ।

    विसं २०५३ मा तत्कालीन राजा वीरेन्द्र शाहको पश्चिमाञ्चल भ्रमणका क्रममा समेत पोखरामा म्याग्दीबाट थाली नाच झिकाएर नृत्य देखाइएको थियो । “म आफैँले गीतको रचना गरी थाली नाचलाई राष्ट्रियस्तरमा परिचित गराउने अभियानमा लामो समय काम गरेकी हुँ, २०६२ सालमा राधा पुनको स्वरमा गीतको रेकर्ड पनि ग¥यौँ,’ थापाले भन्नुभयो ।

    लामो समयसम्म काठमाडौंँलगायतका क्षेत्रमा जमुना गर्बुजाले समेत थाली नाचलाई चिनाउँदै आउनुभएको छ । थापासँग प्रशिक्षण लिएर २०४२ सालदेखि नै गर्बुजाले थाली नाचलाई निरन्तर राष्ट्रियस्तरमा देखाउँदै आउनुभको छ । उहाँले ऐश्वर्य सांस्कृतिक शिल्डलगायतका गोष्ठीहरूमा समेत थाली नाच प्रस्तुत गर्नुभयो ।

    खोजी हुँदै थाली नाचको इतिहास
    चिमखोला गाउँ पञ्चायतका तत्कालीन सचिव समेत रहेका प्रेमबहादुर पुनद्वारा लिखित ‘चिमखोला गाउँको इतिहास र परिचय’ पुस्तकमा भारतीय सेनाबाट अवकाश प्राप्त हवलदार स्थानीय थमन पुनले २०१३ सालमा गाउँमा थाली र खुकुरी नाच देखाएको उल्लेख छ । हिरामायाले भन्नुभयो, “आफूले बाल्यकालमा थालसँग खेल्ने क्रममा यो कला सिकेको हुँ ।”

    हवलदार पुनले बिदामा गाउँ आएको समयमा अनौठा नाचहरू देखाउने क्रममा पहिलोपटक गाउँमा थाली नाच देखाएको र पछि हिरामायाले यसलाई व्यापक बनाएको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो । “थाली नाच चिमखोलाको पहिचान हो, यसले गाउँलाई देश तथा विदेशमा चिनाएको छ,” उहाँले भन्नुभयो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा थाली नाचको उत्पत्ति र उद्गमथलो चिमखोला भएकाले यसलाई सांस्कृतिक सम्पदामा दर्ता अभिलेख गराउने जमर्को गरिएको चिमखोलाका गणेश पुनले बताउनुभयो । उहाँका अनुसार दर्ताका लागि आवश्यक पुराना तस्बिर, भिडियो र अडियोलगायतका तथ्य सामग्रीको सङ्कलन भइरहेको छ । थाली नाचको मुख्य विशेषता भनेको थाललाई सन्तुलनमा राख्दै लयबद्ध रूपमा नृत्य गर्नु हो । यसमा नृत्य गर्नेको कला, एकाग्रता र शारीरिक सन्तुलनको उत्कृष्ट प्रदर्शन देख्न पाइन्छ ।

    पुस्तान्तरण र प्रदेश सरकारको सहयोग
    रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनको थाली नाच सिक्ने रहर गण्डकी प्रदेश सरकारले पूरा गरिदियो ।

    परम्परागत संस्कृतिमा रुचि राख्ने पुनले दुई वर्षअघि तत्कालीन सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोगमा नेपाल मगर सङ्घले सञ्चालन गरेको प्रशिक्षणमा सहभागी भएर यो कला सिक्नुभएको हो । उहाँले अहिले विभिन्न महोत्सवहरूमा आफ्नो कला देखाउने गर्नुहुन्छ ।

    “थाली नाच हाम्रो आफ्नै ठाउँबाट सुरु भएको मौलिक संस्कृति हो, तालिमले मलाई यो कला सिक्ने मौका दियो,” उहाँले भन्नुभयो । एक सातासम्म सञ्चालन भएको थाली नाच तालिमबाट ३२ जनाले प्रशिक्षण लिएका थिए । तालिममा सिकेका अधिकांशले विभिन्न अवसरमा थाली नाच देखाउने गरेको नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले बताउनुहुन्छ । गण्डकी प्रदेश सरकारले म्याग्दीमा रहेका मगर, छन्त्याललगायतका आदिवासी जनजाति समुदायको मौलिक कला संरक्षणका लागि यस्ता तालिम प्रदान गर्दै आएको छ ।

    एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्शेर घर्ती क्षेत्रीका अनुसार ज्येष्ठ नागरिकमा रहेका ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । तत्कालीन सामाजिक विकास कार्यालय म्याग्दीको सहयोगमा म्याग्दी जेसीजले २०८१ भदौमा विद्यालय तहमा समेत थाली नाच प्रतियोगिता आयोजना ग¥यो । १० विद्यालयले सहभागिता जनाएको उक्त प्रतियोगितापछि विद्यालय तहका विद्यार्थीहरूमा यो नाचप्रति अभिरुचि बढेको छ ।

    प्रवासमा लोकप्रिय बन्दै थाली नाच
    चिमखोलाबाट सुरु भएको थाली नाच अहिले विदेशमा रहेका नेपाली समुदायमा समेत लोकप्रिय छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) मार्फत आयोजित कार्यक्रमहरूमा यो नाच अनिवार्य जस्तै बनेको छ । हङकङमा सन् २०१५ मा पहिलोपटक चिमखोलाकी मनु पुनले थाली नाच देखाएकी थिइन् । त्यसपछि मोना र अन्य सङ्घसंस्थाका कार्यक्रममा पुनको नेतृत्वमा सामूहिक थाली नाच देखाउन थालियो ।

    “विदेशमा बस्ने म्याग्देलीहरूले आफ्ना बालबच्चालाई पनि थाली नाचलगायतका मौलिक संस्कृति सिकाउन थालेका छन्,” उहाँले भन्नुभयो । म्याग्देली पुगेका ३० भन्दा बढी मुलुकमा थाली नाच प्रदर्शन हुने गरेको छ । मोना अन्तर्राष्ट्रिय कार्यसमितिका महासचिव सुवास राम्जालीका अनुसार प्रवासमा आयोजना हुने वार्षिकोत्सव र सांस्कृतिक कार्यक्रममा थाली नाच प्राथमिकतामा पर्छ । विदेशी नागरिकहरूले समेत यो नाचलाई चासो दिएर अवलोकन गर्ने गरेका छन् ।

    मेला महोत्सवको आकर्षण र गौरव
    चिमखोला गाउँबाट सुरु भएको थाली नाचलाई प्रचारप्रसार गर्न जिल्लाका मेला महोत्सवहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । मगर समुदायको मौलिक पोसाक रातो चोली, कम्मरमा पहेंलो पटुकी, गलामा पहेंलो पोते, सेतो भाङ्ग्रा र गुन्युमा सजिएका कलाकारहरूले सामूहिक नृत्य देखाउँदा दर्शकहरू मोहित हुन्छन् ।

    पछिल्लो समय सभा समारोहहरूमा २० देखि २५ महिला कलाकारहरूले एकैसाथ सामूहिक रूपमा थाली नाच देखाउने गर्छन् । नेपाल मगर सङ्घ म्याग्दीले आगामी माघेसङ्क्रान्तिको अवसरमा आयोजना गर्ने मगर सांस्कृतिक महोत्सवमा सय जनालाई सहभागी गराई थाली नाच प्रस्तुत गर्ने तयारी गरेको छ । यसका लागि तालिम र प्रशिक्षणको योजना बनाइएको सङ्घका अध्यक्ष थापाले बताउनुभयो ।

    चिमखोलाः सांस्कृतिक गाउँ घोषणा
    रघुगङ्गा गाउँपालिकाले चिमखोलालाई ‘सांस्कृतिक क्षेत्र’ घोषणा गरेको छ । थाली नाचसँगै पुख्र्यौली मौलिक कलामा धनी भएकाले यसको संरक्षणका लागि सांस्कृतिक गाउँ घोषणा गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । गलेश्वरदेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई पर्यटकीय र चिमखोलालाई सांस्कृतिक क्षेत्र घोषणा गरेर स्थानीय सरकारले संस्कृतिको जगेर्नामा जोड दिएको छ । चिमखोलामा थाली नाचका साथै भूमे पूजा, मण्डली बजैको थान, सेदो भाका र यानीमाया जस्ता पुराना सांस्कृतिक धरोहरहरू जीवन्त छन् ।

    मौलिकता जोगाउने चुनौती
    समयसँगै थाली नाचको प्रस्तुतिमा पनि परिवर्तन देखिन थालेको छ । अचेल यो नाच आधुनिक लोकगीत, दोहोरी र पञ्चेबाजाको तालमा समेत प्रस्तुत हुन थालेको छ । अग्रज कलाकार जमुना गर्बुजाका अनुसार नयाँपनका नाममा मौलिक शैली ओझेलमा पर्ने जोखिम छ । “थाली कसरी घुमाउने र गीतको लयमा कसरी ताल मिलाउने भन्ने कुरामा अहिलेको पुस्ताले पहिले जस्तो ध्यान दिएको पाइँदैन”, उहाँले भन्नुभयो ।

    संस्कृति पुस्तान्तरण गर्दा त्यसको मूल आत्मा जोगाउनु महत्वपूर्ण हुने बेनीकी थाली नाच प्रशिक्षक खिमा पुर्जा बताउनुहुन्छ । “हातमा थाल घुमाउनु मात्रै ठूलो कुरा होइन, थाल र नाचको ताललाई गीतको भावअनुसार नचाउन सक्नुपर्छ”, उहाँले भन्नुभयो । पहिले महिलाहरूले मात्र देखाउने यो नाचमा अचेल पुरुष कलाकारहरू पनि सक्रिय हुन थालेका छन् ।

    चिमखोलाको आँगनबाट सुरु भएको थाली नाच आज विश्वका ठूला रङ्गमञ्चहरूमा गर्वका साथ प्रदर्शन भइरहेको छ ।

    समयसँगै थाली र गीतका भाका फेरिए पनि यसले बोकेको चिमखोलाको पहिचान अझै उस्तै छ । हिरामायाले पँधेरोमा थालेको त्यो सानो अभ्यास आज म्याग्दीकै एउटा चम्किलो सांस्कृतिक गहना बनेको छ । यसको मौलिकता जोगाउन नयाँ पुस्ताको सक्रियता र पुरानाको अनुभवलाई जोड्नु आजको आवश्यकता हो । (रासस)

    बुधबार, असार १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.