काठमाडौँ । इरान र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिबीच आइतबार स्विट्जरल्यान्डमा भएको करिब ८० मिनेटको वार्ता निष्कर्षविहीन बनेको छ। ६० दिने युद्धविरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने उद्देश्यले भएको वार्तामा दुवै पक्षबीच महत्वपूर्ण विषयमा सहमति जुट्न सकेन।
इरानले इजरायल–हेज्बुल्लाह द्वन्द्वको पूर्ण समाधान नभएसम्म थप वार्ताको वातावरण नबन्ने जनाएको छ। अर्को चरणको वार्ताको मिति पनि तय भएको छैन।
बीबीसीका अनुसार वार्ता होर्मुज जलडमरूमध्य सञ्चालन, दक्षिणी लेबनानमा युद्धविराम कार्यान्वयन तथा आणविक सम्झौतासम्बन्धी तीन प्रमुख मुद्दामा अड्किएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेज्बुल्लाहलाई नियन्त्रण गर्न नसके पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। त्यसको जवाफमा इरानले कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको जनाएको छ।
हालै सम्पन्न १४ बुँदे शान्ति सम्झौतामा विभिन्न मोर्चामा युद्ध रोक्ने प्रतिबद्धता जनाइए पनि लेबनानमा तनाव कायमै रहेको बताइएको छ।
