काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वाससम्बन्धी समस्याका कारण काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति उपचारकै क्रममा निधन भएको हो।
वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसका निष्ठावान, त्यागी तथा स्वच्छ छविका नेताका रूपमा परिचित थिए। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका उनले २०३६ सालको जनमतसंग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन तथा २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। लोकतन्त्र स्थापनाका लागि उनले झण्डै नौ वर्ष जेल जीवनसमेत बिताएका थिए।
वि.सं. २०५६ सालको आमनिर्वाचनमा काभ्रेपलाञ्चोकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खरेलले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। शिक्षा क्षेत्रको विकास तथा प्राथमिक शिक्षा विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको मानिन्छ।
उनको निधनप्रति नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनले एक आदर्शवादी र प्रतिबद्ध नेता गुमाएको बताएका छन्। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने तथा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।